धनगढी/पलिया, साउन ६।
नेपालको धनगढी क्षेत्रबाट हराएका तीन जना नाबालक भारतको उत्तर प्रदेशस्थित पलिया कलाँ क्षेत्रमा सकुशल फेला परेका छन्। जंगलको बाटो हुँदै भारत पुगेका उनीहरूलाई स्थानीयले भौंतारिरहेको अवस्थामा देखेपछि पलिया प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ पलिया कोतवालीका प्रहरी निरीक्षक शिवाजी दुबेले तीनै बालबालिकालाई प्रहरी कार्यालयमा ल्याई खाना, पानी तथा सुरक्षित बसोबासको व्यवस्था गरेका थिए।
प्रहरीको सोधपुछका क्रममा बालबालिकाले आफ्ना अभिभावक र ठेगानाबारे जानकारी दिएपछि पलिया प्रहरीले नेपाल प्रहरीसँग सम्पर्क गरेको थियो। नेपाल प्रहरीले उनीहरू हराएको विवरण दर्ता भइसकेको जानकारी दिएको थियो।
फेला परेका बालबालिकामा सचिम कुँवर (१० वर्ष), कुशल सुनार (८ वर्ष) र अमन जोशी (१० वर्ष) रहेका छन्। उनीहरू २० जुलाई २०२६ देखि नेपालबाट हराएका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि २१ जुलाई २०२६ मा तीनै जनालाई नेपाल प्रहरी तथा उनीहरूका अभिभावकको जिम्मा लगाइएको हो।
बालबालिकाका अनुसार उनीहरू सीमा नाकाबाट नभई जंगलको बाटो हुँदै भारत प्रवेश गरेका थिए। यस घटनाले नेपाल–भारत सीमा क्षेत्रमा रहेको सुरक्षा व्यवस्थाप्रति पनि प्रश्न उठाएको छ। यदि साना बालबालिकाले सहजै जंगलको बाटो प्रयोग गरेर सीमा पार गर्न सक्छन् भने असामाजिक समूहले पनि त्यही मार्ग प्रयोग गर्न सक्ने सम्भावना रहने भएकाले सीमावर्ती जंगल क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
पलिया प्रहरीको सतर्कता, मानवीय व्यवहार र समन्वयका कारण तीनै बालबालिका सकुशल आफ्ना परिवारसम्म फर्किन सफल भएका छन्। यसका लागि उनीहरूका अभिभावकले पलिया प्रहरीप्रति आभार व्यक्त गरेका छन्।