काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारी धरौटीमा रिहा भएका छन् ।
बैतडी घर भएका शिक्षा अधिकृत सुरेन्द्र भट्ट ललितपुरका प्रमुख जिल्ला अधिकारीको आदेशमा रिहा भएका हुन् । जिल्ला प्रशासनको आदेश अनुसार उनलाई २० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले उनलाई असार २२ मा पक्राउ गरेको थियो । प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । सो कसुर पुष्टि भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।
शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत भट्टले असार २१ मा साँझ ६ बजेतिर दुर्व्यवहार गरेको भन्दै पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गरेकी थिइन्
गल्लीमा एक्लै देखेपछि कपडा खोलेर गोप्य अङ्ग देखाएको भन्ने युवतीको आरोपमा भट्टले इन्कारी बयान दिएका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा उनले इन्कारी बयान दिएका हुन् । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरेकी थिइन् ।