२२ साउन, काठमाडौं । असारभित्रै पार्टी पुनर्गठनको छलफल सक्ने लक्ष्य लिएको नेकपा एमाले झण्डै एक महिनादेखि अलमलमा फसेको छ ।
महासचिव शंकर पोखरेलको पहलकदमीमा केही छिटफुट गतिविधि भइरहे पनि पार्टीको मूल कार्यक्रम प्रभावित छ । असारको तेस्रो सातासम्म एमालेका नेताहरू पार्टी पुनर्गठनबारे सुझाव संकलनमा खटिएका थिए ।
२६ जेठमा बागमती प्रदेशका नेताहरूबाट सुझाव लिएर सुरु भएको अभियान २३ असारमा सल्लाहकारहरूको सुझाव लिएर सकिएको थियो । प्राप्त सुझावहरू समेटेर प्रतिवेदन लेख्ने जिम्मा कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिइएको थियो ।
२५ असारमा बसेको कार्यदलको बैठकले दिएको जिम्मेवारी बमोजिम महासचिव पोखरेलले प्रतिवेदन लेखिसकेका छन् । ‘संयोजकले महासचिवलाई नै तयार पार्नुस् भन्नुभएछ । र, महासचिवले समय लिएरै प्रतिवेदन लेख्नुभयो,’ स्रोत भन्छ ।
आफूले तयार पारेको ड्राफ्ट महासचिव पोखरेलले संयोजक थापालाई बुझाएका छन् । तर थापाबाट अहिलेसम्म कुनै जवाफ फर्किएको छैन । बरू उक्त ड्राफ्ट अध्यक्ष ओलीको निवास गुन्डु पुगेर अड्किएको छ ।
‘महासचिवले उपाध्यक्षलाई दिनुभएछ, उपाध्यक्षले अध्यक्षलाई लगेर बुझाउनुभएछ,’ एक जना पदाधिकारी भन्छन्, ‘अध्यक्षले त्यो प्रतिवेदन मन पराउनुभएन भन्ने सुनिन्छ ।’ ती पदाधिकारीका अनुसार गुन्डु पुगेर प्रतिवेदन अड्किएको थाहा पाए पछि महासचिव पोखरेलले अध्यक्ष ओलीसँगै चासो राख्दैआएका छन्
तर उक्त प्रतिवेदन अगाडि बढाउने पक्षमा ओली छैनन् । बरू प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने संकेत दिएका छन् । ‘महासचिवले तयार पारेको प्रतिवेदनलाई अध्यक्षले महाभारत भन्नुभएछ,’ एमालेका एक नेता भन्छन् ।
महासचिव पोखरेलले भने प्रतिवेदनको आकार ठूलो हुनु स्वभाविक रहेको जवाफ फर्काएका छन् । ‘१३ वटा समूहबाट आएको सुझाव धेरै हुने नै भयो । तर सुझावहरू अनुसूचीमा राखेर प्रतिवेदन तयार हुन्छ,’ पोखरेलले ओलीसँग भनेका छन् । स्रोतका अनुसार पार्टी पुनर्गठनबारे आएका सबै सुझाव समेट्दा ८ सय पृष्ठ बढीको प्रतिवेदन तयार भएको छ ।
पराजयको समीक्षा, नेतृत्वमै प्रश्न
प्रतिवेदनमा २१ फागुनको निर्वाचनमा पार्टीले सर्मनाक पराजय बेहोर्नुका कारणहरू समेटिएको अर्का एक पदाधिकारी बताउँछन् । ‘हामीले इतिहासकै नराम्रो पराजय कसरी बेहोर्नुपर्यो भन्ने कुरा नै समेटिएको छ,’ उनी भन्छन्, ‘सँगै अब कसरी जाने भन्नेबारे देशभरका नेता कार्यकर्ताले दिएका सुझाव समेटिएको छ ।’
सात भौगोलिक प्रदेश र गैरगौभोलिक गरी १३ ठाउँबाट सुझाव लिदा ठूलो पंक्ति पुनर्गठनकै पक्षमा देखिएको प्रतिवेदनको मूल निष्कर्ष रहेको उनी बताउँछन् । ‘अहिलेको नेतृत्व र कमिटीले अब एमाले अगाडि बढ्न सक्दैन भन्ने निचोड प्रतिवेदनमा छ,’ उनी भन्छन् ।
महासचिव पोखरेलले यसबारे नेताहरूलाई संकेत दिइसकेका छन् । आफूलाई भेट्न आउने नेतासँग पोखरेलले पुनर्गठनको निचोड राखेरै प्रतिवेदन लेखेको बताउने गरेका छन् ।
‘तपाईँहरूले भनेको भन्दा एक कदम अगाडि बढेर प्रतिवेदन तयार भएको छ,’ पुनर्गठन अभियानमै रहेका ठाकुर गैरे, झपट रावल लगायत नेताहरुसँग पोखरेलले भनेका थिए । गैरेका अनुसार, एमाले यथास्थितिमा रहदैन भन्ने प्रष्ट निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको महासचिव पोखरेलले बताएका थिए ।
यही कुरा अध्यक्ष ओलीलाई मन परेको छैन । आफूले नेतृत्व छोड्नुपर्नेगरी आउने प्रतिवेदन स्वीकार्न ओली तयार नरहेको उनीनिकट एक नेता बताउँछन् ।
‘अध्यक्षको जत्तिकै कमजोरी अरू पदाधिकारीहरूको पनि छ, महासचिवले पनि गल्ती गर्नुभएको छ भन्ने कुरा त नेताहरूले सार्वजनिक रूपमै भनिरहेका छन्,’ ओली निकट नेता भन्छन्, ‘कमजोरी एउटालाई मात्र दिएर अरू उम्कनेगरी प्रतिवेदन तयार हुन सक्दैन ।’
पोखरेललाई बहुमत पदाधिकारीको साथ
बहुमत पदाधिकारीको साथ पाएका महासचिव पोखरेल आफूले तयार पारेको प्रतिवेदनबाट टसमस हुन मानेका छैनन् । उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लगभग सबै सचिवको साथ महासचिव पोखरेलले पाएका छन् ।
नेताहरुका अनुसार विष्णु पौडेल गिरफ्तारीबाट छुटेपछि महासचिव पोखरेल अझ बलियो अडान राख्ने स्थितिमा छन् । ८ असारमा सुर्खेतबाट पक्राउ गर्नुअघि पौडेलले नै पुनर्गठन अभियानको नेतृत्व गरिरहेका थिए ।
पदाधिकारीभित्र पुनर्गठन पक्षधरको प्रष्ट बहुमत हुनुमा पौडेलकै अग्रसरताले काम गरेका थियो । पदाधिकारीमा रामबहादुर थापा र महेश बस्नेत मात्रै ओलीको पक्षमा थिए । पौडेलले ओलीलाई राजीनामा गर्न सुझाइरहेका थिए ।
‘पार्टीभित्र पुनर्गठनको बहसलाई विष्णु पौडेलले तल्लो तहसम्मै लैजानु भएको थियो,’ एक नेता भन्छन्, ‘पदाधिकारीभित्र बहुमत नेताहरू पुनर्गठनको पक्षमा उभिदा यसको असर स्थानीय तहसम्म पुगेको थियो ।’
पार्टीका निर्णयमा समेत ओली अप्ठ्यारोमा परेको नेताहरूको बुझाइ छ। ओली पुनर्गठन कार्यदल गठनकै पक्षमा थिएनन्। तर बहुमत पदाधिकारीको चाहनामा कार्यदल बनाएर देशभर सुझाव संकलन अभियान चलाइएको थियो।
ओलीको सक्रियता, पुनर्गठन पक्ष पनि अडिग
अभियानकै क्रममा पौडेल पक्राउ परेपछि पुनर्गठन अभियान केही सुस्त देखियो । त्यसविपरीत ओलीको गतिविधि बाक्लियो । पौडेल पक्राउको विरोधमा बक्तव्य जारी गर्ने र सचिवालय बैठक राख्ने निर्णय गरेर अगाडि बढेका ओलीका गतिविधि अहिले पनि बाक्लै छ । ‘गुन्डुमा नेताहरूलाई लाइन लगाएर भेटिरहनुभएको छ । अहिले पनि समय नलिइ जानेले भेट्न पाउने स्थिति छैन,’ एक नेता भन्छन् ।
तर ओलीलाई जसरी पनि झुकाउनेगरी अभियान चलाइरहेका विष्णु पौडेल र शंकर पोखरेलहरू पनि टसमस छैनन् । केही दिन अगाडि पौडेललाई भेट्न केही केन्द्रीय सदस्य भैसेपाटीस्थित निवास पुगेका थिए । खिमलाल भट्टराई, ठाकुर गैरे, रचना खड्का, झपट रावललगायत केन्द्रीय सदस्यले पुनर्गठनबारे चासो राखेका थिए । ‘पुनर्गठन हुँदैन भनेर निराश हुनुपर्ने स्थिति छैन । हामी प्रक्रियामै छौं भन्नुभयो,’ उक्त भेट्नमा सामेल रावल भन्छन् ।
अर्थात अध्यक्ष ओली र महासचिव पोखरेल आ–आफ्ना अडानमा टसमस नहुँदा एमालेको अन्योल भने लम्बिरहेको छ । ओलीको असहमतिबीच प्रतिवेदन टुंग्याउनेगरी कार्यदलका संयोजक थापा बैठक राख्न तयार छैनन् । प्रतिवेदनको ड्राफ्ट तलमाथि गर्न महासचिव पोखरेल मानिरहेका छैनन् ।
‘प्रतिवेदन तलमाथि गरियो भने मेरो छुट्टै र संयोजकको छुट्टै हुनसक्छ,’ पोखरेलले अडान लिएका छन् । उच्च स्रोतका अनुसार सकेसम्म एउटै प्रतिवेदन तयार पार्न समय लिइदै आएको छ ।
‘महासचिव रामेछाम जानुभएको छ । फर्किपछि सल्लाह होला,’ प्रचार विभाग प्रमुख निरज आचार्य भन्छन्, ‘अहिले कुनै छलफल वा बैठक बोलाइएको छैन ।’