धनगढी– धनगढी औषधी व्यवसायीलाई डा. निराजन दत्त शर्माले धम्की दिने र गाली गलौच गर्ने गरेको आरोप लगेको छ ।
नेपाल औषधी व्यवसायी संघ कैलालीले डाक्टर निराजनबाट आफूलाई सुरक्षित राख्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।
सेती प्रादेशिक अस्पतालमा कार्यरत तथा गरिमा पोलिक्लिनक, साह फार्मेसी र गरिमा डेन्टलका सञ्चालक डा. निराजन दत्त शर्माले थोक औषधी व्यवसायीहरुलाई ज्यान मार्ने धम्की दिने गरेको बताएका छन्।
‘डा निराजन दत्त शर्माले थोक औषधी वयवसायीहरुसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन किन रोक लगायौ भन्दै तथानाम गाली गर्ने, हकार्ने, तिमिहरुलाई चाहेमा जे पनि गर्नसक्छु, तिम्रा, घर परिवारलाई अपहरण गर्न सक्छु, तिमीहरुलाई गुण्डा लगाएर जे पनि गर्न सक्छुु’ नेपाल औषधी व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा उल्लेख छ।
नेपाल औषधी व्यवसायी संघमा मोखिक उजुरी परेपछि जिल्ला प्रशासनमा निवेदन हालेको संघका कार्यवाहाक अध्यक्ष भक्त राज उप्रेतीले बताएका छन्।
यस्तै औषधि वितरक संघका निवर्तमान अध्यक्ष राज जोशीले डाक्टर निराजनले आफूखुसी औषधी विक्री वितरण गर्ने गरेको बताएका छन्।
संघका अध्यक्ष प्रेमराज बुढासँगको वार्ताका क्रममा डा निराजनले संघका केही सदस्यहरुका वालवच्चा अपहरण गर्ने धम्की दिएको संघका कार्यसमिति सदस्य मेघेन्द् बोहोराले बताएका छन्।
पत्रकार सम्मेलन पछि डाक्टर निराजनसँग कुराकानी गर्दा उनले संघले नेपालको कानूनमा नभएको कुरा नियमन गर्न खोजेको र बिरामीलाई सस्तोमा औषधी प्रदान गर्न खोज्दा रोक्ने प्रयास गरेको बताएका छन्।
उनले आफूले केही धम्की दिएको भए कानून अनुसार अगाडि बढ्न अनुरोध गरेका छन्। औषधी व्यवसायीको सिड्डीकेटले काम गर्न नदिएको र अपमान गर्न यो सडयन्त्र रचेको उनले बताएका छन्।
डा निराजन आफ्नो रुखो स्भावका कारण बेला बेला चर्चामा आउने गरेका छन्।
