बिहिबार, भदौ ४, २०८३

दुधवा–गौरीफंटा मार्गमा हात्तीको झुन्ड आएपछि मजदुरमा भागदौड

पलिया, खीरी । दुधवा–गौरीफंटा मार्गमा जंगलबाट निस्किएको हात्तीको ठूलो झुन्ड अचानक मुख्य सडकमा आएपछि केही समय अफरातफरी मच्चिएको छ।
सडक किनारमा इन्टरलकिङका लागि सपोर्ट वाल निर्माणको काम भइरहेको बेला हात्तीको झुन्ड सडकमा आएको हो। त्यस समयमा निर्माण कार्यमा खटिएका मजदुरहरूले हात्तीलाई आफ्नोतर्फ आउँदै गरेको देखेपछि ज्यान जोगाउन आफ्ना औजार छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए।
हात्तीको झुन्ड सडकमा आएपछि मोटरसाइकल तथा अन्य सवारीसाधनसमेत रोकिएका थिए। मजदुर र यात्रुहरूले समयमै सुरक्षित दूरी कायम गरेकाले कुनै मानवीय क्षति भने हुन पाएन।
घटनापछि केही समय निर्माण कार्यसँगै सडकमा सवारी आवागमनसमेत प्रभावित भएको थियो। जंगलबाट हात्ती सडक क्षेत्रमा आउन थालेपछि उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।