कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराडेमा खहरे खोलामा आएको बाढीका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा क्षति पुगेको छ।
खहरे खोलामा आएको बाढीले राजमार्गको दक्षिणतर्फको सडकको केही भाग भासिएपछि सडकमा क्षति पुगेको हो। सडक भासिएसँगै उक्त स्थानमा यातायात आवागमन प्रभावित भएको छ।
हाल सो सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको जनाइएको छ। सडकको क्षतिग्रस्त भागका कारण सवारीसाधनलाई सावधानीपूर्वक आवतजावत गराउनुपर्ने अवस्था रहेको छ।
बाढीका कारण सडक थप भासिन सक्ने जोखिम रहेकाले सम्बन्धित निकायले तत्काल सडकको अवस्थाबारे निरीक्षण गरी आवश्यक मर्मत तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ। स्थानीय प्रशासनले यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ।