बिहिबार, भदौ ४, २०८३

मोहन्याल–७ मा पहिरोसँगै ट्रक कर्णाली नदीमा खस्यो, चालक र सहचालक सकुशल

कैलालीको लम्कीबाट सुर्खेतको बाबियाचौरतर्फ इँटा बोकेर जाँदै गरेको ट्रक कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित पथित जचसापानी–राजियाचौर सडकखण्डमा पहिरोसँगै कर्णाली नदीमा खसेको छ।

मधेश प्रदेश ०३–००१ ख ८४३८ नम्बरको ट्रक सडक माथिबाट आएको पहिरोसँगै नदीमा खसेर बेपत्ता भएको जनाइएको छ। दुर्घटनाका क्रममा ट्रकमा रहेका चालक र सहचालकले समयमै हाम फालेर ज्यान जोगाएका छन्। उनीहरू दुवैजना सकुशल रहेको बताइएको छ।

पहिरोका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक माथिबाट पहिरो खसेपछि ट्रकसँगै सडकको केही भागसमेत प्रभावित भएको जनाइएको छ।

घटनापछि सम्बन्धित निकायले सडक खुलाउने तथा ट्रकको अवस्थाबारे थप खोजी गर्ने प्रक्रिया अघि बढाएको छ। लगातारको वर्षा र पहिरोका कारण सुदूरपश्चिमका पहाडी तथा नदी किनारका सडकखण्डमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। स्थानीय प्रशासनले पहिरो प्रभावित सडकमा सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।