बिहिबार, भदौ ४, २०८३

सशस्त्र प्रहरीको ठूलो सफलता, एक वर्षमै १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरूबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासी लगायतका अवैध सामान बरामद गरी भन्सार तथा राजस्व कार्यालय एवं सम्बन्धित निकायमा बुझाएको छ।

सशस्त्र प्रहरी बल नेपालले चोरीपैठारी तथा निकासी लगायतका सामान बरामद गरी राजस्व सङ्कलनमा उल्लेखनीय सहयोग गर्दै आइरहेको छ। सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाइहरूको सक्रिय गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनामा आधारित कारबाहीका कारण यस अवधिमा देशभरका विभिन्न जिल्लाबाट उल्लेखित रुपैयाँ बराबरको सामान बरामद भएको हो।

सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा जोडिएको पर्सा जिल्लाबाट सबैभन्दा बढी २५ करोड ११ लाख ९४ हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको थियो।

त्यस्तै सशस्त्र प्रहरीले बाँके जिल्लाका विभिन्न स्थानहरूबाट १३ करोड ६२ लाख २१ हजार १ सय ३८ रुपैयाँ, झापा जिल्लाबाट १३ करोड ८ लाख ८९ हजार ८ सय ८१ रुपैयाँ, रुपन्देही जिल्लाबाट १२ करोड ८८ लाख २४ हजार ४ सय २१ रुपैयाँ र कैलाली जिल्लाबाट १२ करोड ४२ लाख १० हजार ४ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी सशस्त्र प्रहरीले सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बारा जिल्लाका सीमा इलाकाबाट समेत उल्लेखनीय परिमाणको सामान बरामद गरेको छ। अन्य मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरी लगायतका जिल्लाहरूबाट पनि करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

विशेष गरी सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट नियमित गस्ती, चेकजाँच तथा विशेष सूचनामा आधारित अपरेसनल कामकारबाही सञ्चालन गरी भन्सार विभाग, अन्य सुरक्षा निकाय लगायतका सम्बद्ध निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै चोरीपैठारी तथा निकासी जस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्ने कार्य समेत हुँदै आएको छ।

सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपले नेपाल भित्र्याइएका खाद्यान्न, लत्ताकपडा, औषधि, किराना तथा हार्डवेयर सामान, सुनचाँदी, पन्छीजन्य तथा पशुचौपाया, वनपैदावार लगायत सामान ल्याउन प्रयोग भएका सवारीसाधनहरूसमेत नियन्त्रणमा लिएको छ। त्यस्तै नेपालबाट तथा नेपाल हुँदै अन्य देशमा लैजान खोजिएका अवैध सामानसमेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ।