शनिबार, भदौ ६, २०८३

बालबालिकाको गोपनीयता मुद्दामा टिकटकले ४० करोड डलर तिर्ने

टिकटक र यसको चिनियाँ माउ कम्पनी बाइटडान्सले संयुक्त राज्य अमेरिकाको न्याय विभागसँग बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घन गरेको मुद्दा सल्टाउन ४० करोड अमेरिकी डलर तिर्ने सम्झौता गरेको छ ।

सन् २०२४ मा अमेरिकी सरकारले टिकटकविरुद्ध बालबालिकाको व्यक्तिगत डाटा गैरकानूनी रूपमा सङ्कलन गरेको र उनीहरूको गोपनीयता जोगाउन असफल भएको भन्दै मुद्दा दायर गरेको थियो । सोही विषयमा टिकटक क्षतिपुर्ति तिर्न सहमत भएको हो ।

सम्झौता अनुसार टिकटकले ३० करोड डलर तत्काल भुक्तानी गर्नेछ भने बाँकी १० करोड डलर टिकटकको पूर्ववर्ती एप ‘म्युजिकल डट एलवाइ’ सँग सम्बन्धित सन् २०१९ को पुरानो संघीय आदेश खारेज भएपछि तिर्नेछ ।

यो बालबालिकाको अनलाइन गोपनीयता संरक्षण कानुन (सीओपीपीए) अन्तर्गत भएको हालसम्मकै सबैभन्दा ठूलो जरिवानामध्येको एक हो ।

अमेरिकी अधिकारीहरूले टिकटकमाथि १३ वर्षभन्दा कम उमेरका बालबालिकाका खाताहरूबाट अभिभावकको अनुमति विना नै नाम, इमेल र अन्य व्यक्तिगत विवरणहरू सङ्कलन गरेको गम्भीर आरोप लगाएका थिए ।

साथै, उमेरको गलत जानकारी दिएर चलाइएका बालबालिकाका खाताहरूलाई नियमन गर्न र अभिभावकका गुनासो सुन्न कम्पनी असफल भएको दाबी गरिएको थियो ।

मुद्दा परेपछि टिकटकको स्वामित्व, व्यवस्थापन र गोपनीयता नीतिमा ठूला परिवर्तनहरू भइसकेका छन् । एपमा उमेर प्रमाणित गर्ने कडा प्रविधिहरू जडान गरेर हजारौं बालबालिकाका खाताहरू बन्द गरिएको कम्पनीले जनाएको छ ।