शुक्रबार, अशोज २, २०८३

यात्रु ठगी गर्ने धनगढीका अटोचालक पक्राउ, ४० रुपैयाँको भाडा १ हजार ५ सय असुली

धनगढी । कैलालीको धनगढीमा यात्रुसँग तोकिएको भाडाभन्दा अत्यधिक बढी रकम असुल गरेको आरोपमा प्रहरीले अटो चालकसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८३ असोज १ गते धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेकी डोटीको दिपायल सिलगढी नगरपालिका–२ निवासी धर्मा भुलसँग तोकिएको भाडाभन्दा बढी रकम असुल गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार तोकिएको भाडा ४० रुपैयाँ रहेकोमा अटो चालकले भारतीय रुपैयाँ १४ हजार ५०० असुल गरेको पाइएको छ। उक्त रकम असुल गर्ने सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५८२२ नम्बरको अटोका चालक कैलालीको जानकी गाउँपालिका–२ निवासी ३० वर्षीय अर्जुन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, अटो चालकलाई सहयोग गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१ निवासी २४ वर्षीय आसिष पार्कीलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

त्रिनगर प्रहरी चौकी कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल गर्ने तथा यात्रुलाई ठगी गर्ने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।