शनिबार, अशोज २४, २०८३

पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, त्रास फैलियो

काठमाडौं। मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे गएको उक्त भूकम्पका कारण राजधानी पानामा सिटीसहित देशका विभिन्न भागमा भवन, सडक र पुलहरूमा क्षति पुगेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल (१४ किलोमिटर) दक्षिणपश्चिममा र १० किलोमिटरको उथलो (कम) गहिराइमा रहेको थियो।

शक्तिशाली भूकम्पलगत्तै दिउँसो ४ः२५ बजे ६.९ म्याग्निच्युडको ठूलो परकम्पसमेत गएको छ। भूगर्भविद्हरूले मुख्य कम्पनपछि आउने निरन्तरका परकम्पहरूलाई नै अहिलेका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन्।

भूकम्पका कारण ठूलो क्षेत्रमा क्षति पुगे पनि अहिलेसम्म कसैको पनि ज्यान नगएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय नगरका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई दिएको जानकारीअनुसार अहिलेको सबैभन्दा महत्त्वपूर्ण र राहतको कुरा नै कुनै पनि मानवीय क्षति नहुनु हो। पानामाको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार देशका कोक्ले, लस सान्तोस र पानामा प्रान्त भूकम्पबाट बढी प्रभावित भएका छन्।

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओको ‘एल सिटियो’ होटल पूर्ण रूपमा भत्किएको छ भने पेनोनोमे सहरमा ‘डोस कोन्टिनेन्टेस’ होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीहरूमाथि खसेको छ।

यस्तै पेनोनोमेमा करिब एक दर्जन र अगुआदुल्सेमा आधा दर्जन भवनमा ठूलो क्षति पुगेको छ। कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय, स्थानीय क्याथेड्रल चर्चका अग्ला संरचना, पानी प्रशोधन केन्द्र, केही पुल र सडकहरूमा क्षति पुग्नुका साथै विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। भूकम्पका कारण घाइते भएकाहरूलाई तत्काल उद्धार गरी नजिकैका स्वास्थ्य केन्द्रहरूमा लगिएको छ।

करिब २० लाख जनसङ्ख्या रहेको पानामा सिटीमा पनि भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो। गगनचुम्बी भवनहरू जोडले हल्लिएपछि मानिसहरू हतारिँदै खुला सडकतिर भागेका थिए। अग्ला भवनका छतमा रहेका पौडी पोखरी (स्विमिङ पुल) को पानी पोखिएर सडकमा खसेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

यद्यपि राजधानीका मुख्य सहरी क्षेत्रमा कुनै ठूलो क्षति भएको छैन। भूकम्पपछि देशको प्रमुख टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले सुरक्षा जाँचका लागि करिब दुई घण्टा उडान सेवा अस्थायी रूपमा रोकेर पुनः सुचारु गरेको छ।

विश्व समुद्री व्यापारका लागि निकै महत्त्वपूर्ण मानिने पानामा नहर (Panama Canal) भने भूकम्पबाट सुरक्षित रहेको र यसको सञ्चालन नियमित रूपमा भइरहेको नहर प्राधिकरणले जनाएको छ। यस्तै पानामास्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ।

यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार यो भूकम्प ठूलो सुनामी निम्त्याउने सबडक्शन जोनमा नभई जमिनमुनि कम गहिराइमा तेर्सो चाल (Strike-slip faulting) का कारण गएको हो।

भूगर्भशास्त्रमा उथलो प्रकृतिको भूकम्प (Shallow Earthquake) भन्नाले पृथ्वीको सतहबाट कम गहिराइमा, सामान्यतया ७० किलोमिटरभन्दा कम गहिराइमा उत्पत्ति हुने भूकम्पलाई बुझिन्छ। यो भूकम्प केवल १० किलोमिटर गहिराइमा उत्पत्ति भएकाले यसको शक्ति भू-सतहसम्म सिधै पुग्दा केन्द्रबिन्दु वरपरका क्षेत्रमा निकै तीव्र र कडा कम्पन महसुस भएको हफले स्पष्ट पारिन्।