शनिबार, अशोज २४, २०८३

तरकारी बोकेको ट्रकमा मोबाइल डिस्प्ले, गौरीफन्टा नाका हुँदै धनगढी पुगेको सामान बरामद

धनगढी । कैलालीको धनगढीमा भन्सार छली गरी भारतबाट ल्याइएका २६ लाख ८८ हजार रुपैयाँ बराबरका सामानसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तरकारी बोकेको ट्रकमा ठूलो परिमाणमा मोबाइल डिस्प्ले फेला परेपछि त्रिनगर–गौरीफन्टा नाकाको सुरक्षा जाँच र भन्सार प्रक्रियामाथि प्रश्न उठेको छ।

धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चौराहमा शुक्रबार राति शंकाका आधारमा चेकजाँच गर्दा प्रहरीले मोबाइल डिस्प्ले र विभिन्न किसिमका तरकारी फेला पारेको हो। भारतबाट त्रिनगर–गौरीफन्टा नाका हुँदै धनगढी पुगेको उक्त ट्रक सिमानाकामा समेत जाँच भएर भन्सार प्रक्रिया पार गर्दै आएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सामान ओसारपसारमा प्रयोग भएको भारतीय नम्बर प्लेटको यूपी २३ टी ८६७५ नम्बरको मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी निवासी २५ वर्षीय आकिब खान रहेका छन्।

तरकारी बोकेको ट्रकमा लुकाएर ठूलो परिमाणमा मोबाइल डिस्प्ले ल्याइएको घटनाले सीमा नाकामा खटिएका सुरक्षा निकायको जाँच प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। वैध नाका प्रयोग गरी भन्सार प्रक्रिया पार गरेको भनिएको ट्रक धनगढीको चौराहमा पुगेपछि मात्रै शंकाका आधारमा जाँच हुँदा मोबाइल पार्ट्स फेला पर्नुले सीमा सुरक्षा र भन्सार निरीक्षणको प्रभावकारिताबारे चासो बढाएको छ।

यद्यपि, सामान कसरी भन्सार जाँच पार गरेर धनगढी पुगेको हो र यसमा कसैको मिलेमतो वा लापरबाही छ कि छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बरामद सामान, मिनी ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखिएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।