आइतवार, अशोज २५, २०८३

बुढीगण्डकी बाढीको कारण खोज्न ड्रोनसहित भूगर्भविद् टोली परिचालन

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको वास्तविक कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ड्रोनसहित भूगर्भविद्को तीन सदस्यीय टोली परिचालन गरेको छ।

यसका साथै सडक पुनःसञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको उच्चस्तरीय टोलीलाई समेत घटनास्थलतर्फ खटाइएको छ।

चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुलीडाँडाको बीचमा पहिरो गएर नदी थुनिएपछि एक्कासि बहाव खुल्दा उक्त बाढी आएको हो। बाढीमा परी चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष गरी कुल ५ जना बेपत्ता भएका छन्। बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन र नवलपरासीका २२१ जना प्रतिकार्यकर्ता परिचालन गर्नाका साथै जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको सूचनाका आधारमा तटीय क्षेत्रका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरेको थियो।

बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनासहित वरपरका ७ देखि ८ वटा घर, चुमनुब्री–३ को पुरानो झोलुङ्गे पुल र आरुघाट जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ। साथै, बुढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प, निर्माण उपकरण, दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा क्षति पुगेको छ। बाढीका कारण माछिखोलाका तल्लो बस्तीका करिब २२ घर उच्च जोखिममा परेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल ४३७ जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। सेनाका चारवटा हेलिकोप्टरमार्फत हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

आपत्कालीन अवस्थाका लागि द्रुत प्रतिकार्य टोली तथा चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ भने प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र जोखिमयुक्त सडक तथा पुल प्रयोग नगर्न आग्रह गरेको छ।