अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभामा पेस गरेको छ ।
आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । प्रदेश सरकारले आर्थिक वर्ष सुरु भएको ८६ दिनपछि चालु आर्थिक वर्षका लागि दोस्रो पटक बजेट प्रदेश सभामा पेस गरेको हो ।
यसअघि कमल बहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेट पास नभएर सरकार ढलेपछि साउन अन्तिम साता खगराज भट्ट नेतृत्वको सरकारले गठन भएको थियो । खगराज भट्ट नेतृत्वको सरकारले पनि पटक पटक बजेट ल्याउने भाका दिए पनि बजेट ल्याउन सकेको थिएन ।
सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार विनियोजन गरेको छ । बजेटको श्रोतमा आन्तरिक राजश्व परिचालन तर्फ १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजश्व बाडफाडबाट प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६५ हजार, सङ्घीय रोयल्टीबाट बाडफाड प्राप्त हुने ७ करोड, वित्तीय समानिकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख, अघिल्लो आर्थिक वर्षको बचतबाट ९ अर्ब ६५ करोड, ससत्र अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, सङ्घीय अनुदानबाट प्राप्त हुने ३८ करोड ३८ लाख, विशेष अनुदानबाट प्राप्त हुने ५२ करोड ७६ लाख रहेको अर्थमन्त्री मल्लले बताए ।