मङ्लबार, जेष्ठ ५, २०८३

बजेट ल्याउने बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने

काठमाण्डाै , १४ जेठ/  प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै शुरू भएको छैन । बिहान ११ बजेका लागि बोलाएको बैठक झन्डै दुई घण्टा ढिला गरी शुरू भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन । सभामुख देवराज घिमिरेले पटक–पटक गरेको आग्रहलाई विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

हिजो पनि प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।

यसैबीच प्रतिपक्षी दलहरूले भोलि बजेट ल्याउने बैठकमा अवरोध नगर्ने बताएका छन् । संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) माओवादीले पनि बजेट ल्याउँदा अवरोध नगर्ने बताएको छ । बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट नरोक्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

राप्रपाले पनि अरू अडान कायम रहने तर बजेट नरोक्ने बताएको छ । विपक्षी दलहरूले बजेट ल्याउनेबाहेक संसद्का अरू नियमित गतिविधि भने गृहमन्त्रीको राजीनाम नआएसम्म रोक्ने बताएका छन् ।