धनगढी– सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटको तयारीमा जुटेको छ । यसैसन्दर्भमा प्रदेश सभा सचिवालय मातहात रहेको सामाजिक विकास समितिले आफनोे कार्य क्षेत्रभित्र रहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सरोकारवालाहरुसंग छलफल गरेको छ ।
सामाजिक विकास सभापति धर्मराज पाठकले आगामी वार्षिक बजेटमा समेटिने योजना र प्रदेशको सामाजिक विकास मन्त्रालयबाट खरिद भएको पोषणा झोलामा आर्थिक अनियमितता भएकोबारेमा छलफल गरिएको बताए ।
छलफलमा सहभागि प्रदेश सभा सदस्यहरुले आगामी आर्थिक वर्षको बजेट तयार गर्दा नीति तथा कार्यक्रममा समावेश भएका कुराहरुनै समेटिनुपर्ने बताएका थिए । छलफलमा सहभागि नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य जानकी देवि कुँवरले विगतदेखिनै नीति तथा कार्यक्रम र बजेटबिचको तादमियता नमिलेको बताइन । उनले कृषि अनुदानको प्रभावकारी अनुगमन नभएको बताइन ।
नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य पदम शाहीले तराई र पहाड तथा हिमाली क्षेत्रमा विद्यालयको भवन बनाउँदा एकै किसिमको नक्सा नबनाउन सुझाव दिए । विद्यालयको भवन प्राथमिकता राख्नुको सट्टा अध्ययन तथा विद्यार्थि संख्या हेरेर योजना तथा कार्यक्रम बनाउनुपर्ने बताए ।
प्रदेश सभा सदस्य झपट साउँदले शिक्षाको गुणस्तर विकासमा प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । उनले प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष बजेट पाउन्छ वा पाउँदैन भनी प्रश्न गरे ।
एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य नरेशकुमार शाहीले अछामको वयलपाटा अस्पताललाई मन्त्रालयले राम्रो बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य कैलाश चौधरीले भुमि व्यवस्था मन्त्रालय भएपनि भुमी सम्बन्धी काम केही गर्न नसकेको बताए । उनले सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने उपचार खर्च समयमै नपाइने बताए । उनले विरामीलाई दिने पैसा नपाउँदै विरामीको मृत्यु हुने भएकाले यथाशिघ्र दिने व्यवस्था मिलाउनुपर्ने बताए ।