मङ्लबार, जेष्ठ ५, २०८३

गोदावरी नगर प्रमुख भट्टको बदमासी – डिडिसीका लागि जग्गा नदिने, सार्ने तयारीमा रहेका बेला स्थानीयलाई सडकमा उतारे

शेरबहादुर ऐर
धनगढी– दुग्ध विकास केन्द्र सार्ने विषयको निर्णयलाई लिएर अहिले कैलालीको गोदावरी नगरपालिकाका स्थानीयहरु आन्दोलनरत छन । गोदावरी नगरपालिकाले जग्गा उपलब्ध गराउन नसकेपछि दुग्ध केन्द्र अहिले धनगढीमा सार्ने निर्णय भएको छ । सोही अनुसार धनगढीस्थित जडिबुटी प्रशोधन केन्द्रमा संरचना निर्माण कार्य भइरहेको छ ।
पटक–पटक गोदावरी नगरपालिकासंग सहयोग माग्दा नगरपालिकाले वन क्षेत्रको जग्गामा बसाउन खोज्यो तर, जग्गाको सुनिश्चितता नभएपछि केन्द्रले निर्णयनै गरेर सार्ने तयारी गरेको हो ।
बिहीबार डीडीसी संरक्षण संघर्ष समितिले अत्तरिया धनगढी ६ लेन सडकमा आधा घण्टा चक्काजाम गरेको थियो । डीडीसी धनगढी सार्ने तयारी गरिएको भन्दै स्थानीयले जेठ ८ गते देखि विरोधका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार जेठ ८ गते देखि डीडीसी प्रशासन कार्यालयमा तालाबन्दी गरिएको छ भने जेठ १४ गते देखि डीडीसी कारखानामा पनि दैनिक एक घण्टा तालाबन्दी गरिँदै आएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत बिहीबार डीडीसी कार्यालय अगाडी सडकमा आधा घण्टा चक्काजाम गरिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसी अत्तरियामा रोकिने सुनिश्चितता नहुँदा सम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए । उनले आन्दोलनका कार्यक्रम जारी रहेपछि डीडीसीको कारखानाको काम भने बन्द नगरिएको बताए ।

स्थानीय नेता विनोद विष्टले डिडिसीका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल भएको तर, भोगचलनको प्रक्रिया अघि बढीरहेको बताए । उनले सामुदायिक वनको जग्गा सो डिडिसीलाई दिने सहमति भएको बताए ।

२०६७ सालदेखिनै डिडिसी भाडाको घरमा सञ्चालनमा रहेको डिडिसीका कर्मचारी नविन जोशीले बताए । उनले लामो समयदेखि स्थानीय सरकारलाई जग्गाको व्यवस्थापनका लागि पटक–पटक अनुरोध भएको तर, वेवास्ता भएको बताए ।

डिडिसीले कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा जग्गा हेरेको थियो । वन र विद्यालयको जग्गा रहेकाले ति ठाउँका जग्गाको भोगचलनमा आउन लामो समय लाग्छ । जसका कारण धनगढीमै प्रयोगविहिन रहेको जडिबुटी प्रशोधन केन्द्रमा राख्ने तयारी गरेको छ ।