मङ्लबार, जेष्ठ ५, २०८३

नगर प्रमुख हमालको संरक्षणमा सचिवालयबाट आर्थिक अनियमितता : महालेखाले भन्यो– ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दरबन्दी नगराउँ’

शेरबहादुर ऐर
धनगढी– धनगढी उपमहानगरपालिका नगर प्रमुखको सचिवालयको जिम्मेवारीमा रहेका छन् कृपाराम उपाध्याय । उनी नगर प्रमुखको सचिवालयसंगै धनगढी बहुप्राविधिक शिक्षालयका निर्देशक समेत छन् । तर, नगर प्रमुख सचिवालयका उपाध्यायले नियम विपरित रकम असुल गरेको पाइएको छ ।
धनगढीको आर्थिक वर्ष २०८०/८१ मा उनी नियूक्त भएको विद्यालयको नाममा रकम लिएको औल्याएको छ । प्रतिवेदनमा भनिएको छ –‘सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार र व्यवस्थापनका लागि विद्यालयलाई अनुदान खर्च शिर्षकमा गोश्वारा भौचर नम्बर २२/२०८०/९/२४ बाट चार लाख १६ हजार सात सय ६० रकम तलब र भक्ताका लागि निकासा गरेको छ । यसरी, दरबन्दी भित्रको शिक्षकलाई शिक्षा कार्यमा संलग्न नगरी, करारमा शिक्षक नियूक्त गरेर थप व्ययभार परेको देखिन्छ ।’

शिक्षकलाई सामुदायिक विद्यालयले शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासनसंग सम्बन्धित काममामात्र प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, पालिकाले ठेकराज माध्यामिक शिक्षक कृपाराज उपाध्यायलाई नगर प्रमुखको सचिवालयमा कार्यकारी जिम्मेवारी दिनको लागि काजमा नियूक्त गरेको छ । प्रतिवेदनमा भनिएको छ –‘यस विषयमा गत वर्षको लेखापरिक्षण प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छ ।’ प्रतिवेदनले कृपाराज सचिवालयमा लगिएपछि शैक्षिक कार्यको प्रभावकारिता जोखिम निम्त्याउने उल्लेख छ । भनिएको छ –‘पालिकाले शैक्षिक जिम्मेवारीलाई प्राथमिकता दिँदै शिक्षकलाई सम्बन्धीत विद्यालयमा फिर्ता पठाएर शिक्षा कार्यमा संलग्न गराउनुपर्दछ । यसरी सट्टा शिक्षकलाई तलब भत्ता दिएको नियमसंगत देखिएको छैन ।’
२०७९ को निर्वाचनअघि उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित ठेकराज माध्यामिक विद्यालयको प्रधानाध्यापक थिए । स्थानीय निर्वाचनमा नगर प्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि अहिले धनगढीमा उनको मनोपलि जस्तै देखिन्छ ।

नगर प्रमुखको सचिवालय सम्हालेदेखि उनी विद्यालय नगई सेवासुविधा लिइरहेको महालेखा परिक्षककै प्रतिवेदनले औल्याउँदासमेत नगर प्रमुख हमालले सो आदेशको कार्यान्वयन गरेका छैनन । नगर प्रमुख हमालले उनलाई संरक्षण गर्दै आइरहेका छन ।

२०४६ साल चैत १ गते विज्ञान विषयमा स्थायी नियूक्त लिएका उपाध्यायले शिक्षकको जिम्मेवारीभन्दा बढी उपमहानगरपालिकाको सचिवालयमै जोड दिइरहेका छन् । उनी भन्छन् –‘मेरो दरबन्दी ठेकराज माध्यामिक विद्यालयमै हो । तर, अहिले काज सरुवा भई पञ्चोदयमा छु । केही महिनामा अवकास लिदै छु ।’

नगर प्रमुखको सचिवालय सम्हालेसंगै विद्यालयको पठन–पाठननै प्रभावित पारेका उपाध्यायलाई नगर प्रमुख हमालले दण्ड तथा सजाय दिनुभन्दा अवसरमाथि अवसर थपिरहेका छन् । ‘शिक्षकहरु राजनीतिक आस्था बोकेकै कारण शिक्षामा सुधार हुन सकेन । शिक्षकहरुले विद्यालयमा राजनीति गर्नुभन्दा पठनपाठनमा जोड दिनुपर्छ’ भनेर दलको आस्थामा रहेका शिक्षकहरुलाई आरोप लगाउँदै आएका नगर प्रमुख हमालले आफुलाई निर्वाचित गराउनमा सहयोग गरेका शिक्षकदेखि सञ्चारमाध्यमलाई नियम विपरित सेवा सुविधा उपलब्ध गराइरहेको पाइएको छ ।

नियमविपरित भिडियोग्राफर र फोटोग्राफरलाई खर्च

धनगढी नगर प्रमुख गोपाल हमाल सामाजिक सञ्जालमा आलोचनाभन्दा पनि चर्चा कमाउन विभिन्न गतिविधिहरु सामाजिक सञ्जाल अर्थात फेसबुकमा राख्छन । उनको आधिकारिक फेसबुक पेजमा भिडियो तथा तस्बिरहरु खिच्नका लागि आर्थिक वर्ष २०८०/८१ मा नियमविपरित कर्मचारी नियूक्त गरि आर्थिक अनियमितता गरेको महालेखा परिक्षकको प्रतिवेदनले औल्याएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बर लगायत ऐनमा तोकिएका पदमा बाहेक अन्य पदमा करारमा नियूक्त गर्न नपाइने व्यवस्था छ । प्रतिवेदनमा भनिएको छ –‘पालिकाले एक समन्वयकर्ता करारमा नियूक्ति गरि पाँच लाख ६२ हजार दुई सय ७७ रकम तथा भिडियोग्राफरलाई ज्यालादारीमा नियूक्ति गरी दुई लाख ९३ हजार एक सय ८८ समेत कुल आठ लाख ५५ हजार चार सय ६५ रकम भुक्तानी गरेको छ ।’ पालिकाले आफनो संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी स्पष्ट दरबन्दी समेत स्वीकृत नभएको अवस्थामा स्थायी रुपमा तलब भक्ता भुक्तानी हुने गरी नियूक्ति गर्नु मनासिब नदेखिएको प्रतिवेदनले औंल्याएको छ ।
भनिएको छ –‘पालिकाले उल्लिखित पदको कार्यको कार्यबोझ र सोको लागि आवश्यक सम्भावित आयस्र्रोत समेत विश्लेषण नगरी पालिकामा नियमित काम समेत हुने स्पष्ट नगरी उक्त खर्च नियमित भएको मात्र सकिने अवस्था नभएकोले नियमित हुनुपर्छ ।’

शिक्षकनै विज्ञ स्रोत व्यक्ति

शिक्षकलाई सामुदायिक विद्यालयले शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासनसंग सम्बन्धित काममा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । तर, धनगढीले शिक्षकहरुलाई विज्ञ स्रोत व्यक्तिमा नियूक्ति गरि औचित्यपुर्ण नदेखिएको औल्याएको छ ।
भनिएको छ– ‘यस आर्थिक वर्ष अर्थात २०८०/८१ मा जेठ महिनादेखि राष्ट्रिय जनता माध्यामिक विद्यालयका शिक्षक कृष्णसिंह पेला, राष्ट्रिय तुलसिराम माध्यामिक विद्यालयका शिक्षक गणेशराज भट्ट र धनगढी माध्यामिक विद्यालयका शिक्षक हेमराज विष्टलाई उपमहानगरपालिकामा एक वर्षका लागि विज्ञ स्रोत व्यक्ति रुपमा नियूक्त गरेको देखियो । साथै तिनै विद्यालयमा क्रमशः रविन्द्र चौधरी, पूर्णबहादुर थापा र विष्णा चौधरीलाई सट्टा शिक्षकका रुपमा राखि दुई लाख ४४ हजार आठ सय ३० रुपैयाँ भुक्तानी गरिएको छ । जसले पालिकाको वित्तिय भार अनावश्यक रुपमा बढाएको छ ।’
प्रतिवेनले पालिकाले स्वीकृत दरबन्दीका शिक्षहरुलाई विद्यालयबाट हटाएर अन्यत्र खटाउने कार्य रोक्न निर्देशन दिएको छ ।

पेश्की बुझि कर्मचारीनै लग्छन

धनगढी उपमहानगरपालिकाका कर्मचारीहरुले अरुको नाममा पेश्की बुझी आफै खर्च गर्ने गरेको पाइएको छ ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ अनुसार कार्यक्रम सञ्चालन गर्दा मितव्ययिता अपनाउनुपर्ने व्यवस्था छ । महालेखाको प्रतिवेदनमा भनिएको छ –‘उपमहानगरपालिकामा कार्यरत कर्मचारीले आफनै खातामा पाउने तलब तथा भत्ताका अतिरिक्त कार्यक्रम सञ्चालन पेश्की समेत लिई प्रतिष्पर्धाबाट खरिद गर्नुपर्ने मालसामान तथा सेवा आफैले खरिद गरेको देखाई सूत्रबाट प्राप्त विवरणमा वार्षिक रुपमा करकट्टा पछिको खुद भुक्तानी लिएको पाइयो ।’
नियममा तोकिए अनुसार कार्यक्रम सञ्चालन गरी सम्बन्धितलाईनै भुक्तानी गर्ने व्यवस्था मिलाई प्रतिष्पर्धामार्फत खरिद कार्य गरी सम्बन्धित आपुर्तिकर्ताकै नाममा भुक्तानी हुने तथा पेश्की दिई कार्यक्रम सञ्चालन गर्दा मितव्यायी हुने तरिका अपनाई गरेको खर्च मनासीव मान्न सकिएन । यस्ता खर्चमा नियन्त्रण गरी प्रतिष्पर्धात्मक तवरले खरिद गर िकार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
प्रतिवेदन अनुसार ३१ लाख ३३ हजार एक सय ६१ रकम उनीहरुले पेश्कीमार्फत लगेको औल्याएका छ । जसमा इन्जिनियर द्धिजराज भट्टले मस्टरोल भुक्तानी भनी ११ लाख ८३ हजार ४३, प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीले १९ लाख ५० हजार एक सय १७ र कानुन अधिकृत खडकसिंह कुन्जेडाले १३ लाख ७५ हजार चार सय ८० रकम पेश्की लिएको उल्लेख छ ।