मङ्लबार, जेष्ठ ५, २०८३

कैलालीको गोदावरी नगरपालिकाद्वारा सवारी मर्मतमा ५९ लाख २९ हजार बढि रकम खर्च

कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा आफ्ना सवारी साधनहरूको मर्मतमा ठुलो रकम खर्च गरेको पाइएको छ।

महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदन अनुसार, नगरपालिकाले कुल रु ५९ लाख २९ हजार ७ सय ६९ रुपैयाँ सवारी मर्मतमा खर्च गरेको देखिन्छ, जुन आन्तरिक आय रु १३ करोड ७२ लाख २२ हजार ५७१ को करिब ४.३२ प्रतिशत हो।

तर, उक्त खर्च सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९६ बमोजिमको प्रक्रियामा चित्तबुझ्दो रुपमा नगरेको भन्दै महालेखा कार्यालयले टिप्पणी गरेको छ। नियमअनुसार मर्मतको लागि खर्च गर्नु अघि नियम १३ बमोजिम लागत अनुमान तयार पार्नु पर्ने, प्रत्येक प्रतिस्थापित पार्टपुर्जा दाखिला गर्नु पर्ने, र नियमित मर्मत अभिलेख राख्नुपर्ने प्रावधान छ। यद्यपि, नगरपालिकाले ती कानुनी प्रक्रिया पूर्णरूपमा पालना नगरेको उल्लेख गरिएको छ।

त्यसैगरी, मर्मत तथा संभार सम्बन्धी कार्यहरूलाई व्यवस्थित बनाउन आवश्यक पर्ने म.ले.प.फा.नं. ४१४(क) अनुसारको आवेदन फारम तथा म.ले.प.फा.नं. ४१५ अनुसारको अभिलेख खाता समेत नगरपालिकाले नपु¥याएको देखिएको छ।

महालेखा परीक्षकको प्रतिवेदनमा सवारी मर्मतमा खर्च भईरहँदा पारदर्शिता र मितव्ययितालाई सुनिश्चित गर्न पालिकालाई नियत ढाँचामा अभिलेख अद्यावधिक गर्नुपर्ने र नियमावली अनुसार कार्य गर्न आवश्यक रहेको स्पष्ट उल्लेख गरिएको छ।