धनगढी: धनगढीको चैतन्य पाठशालाको आयोजनामा एक प्रेरणादायी तथा अभिमुखीकरण मूलक कार्यक्रम आयोजना गरिएको छ। ‘योग, ध्यान, सङ्गीत र सहृदयताको सङ्गम’ कार्यक्रम सम्पन्न भएको हो।
प्राकृतिक जीवनशैलीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा योग, ध्यान, स्वस्थ जीवनशैली, सकारात्मक सोच तथा संस्कारबारे गहन प्रस्तुति र अनुभव साथै विभिन्न विषयहरूमा विशेष सत्रहरू सञ्चालन गरिएका थिए।
स्वस्थ जीवन बालबालिकाको उज्ज्वल भविष्यको आधार, आहार, विचार र व्यवहारको अन्तरसम्बन्ध योग, ध्यान र प्राकृतिक जीवनशैलीको अभ्यास साथै राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनीको विशेष प्रस्तुति रहेको थियो। योग, ध्यान र प्राकृतिक जीवनशैलीको अभ्यास बारे आयुर्वेदिक चिकित्सक डा. प्रीति ज्ञवाली, र पतञ्जलि योग समिति सुदूरपश्चिम प्रदेशका वैद्य हेमन्तराज ओझा प्रमुख वक्ताका रूपमा उपस्थित थिए। उनीहरूले सङ्गीत, आयुर्वेद र योगमार्फत आत्म–संवेदनशीलता, सन्तुलित जीवनशैली र संस्कारको महत्त्वबारे जानकारी दिएका दिएका हुन ।
विश्व सङ्गीत दिवस र विश्व योग दिवसको सन्दर्भमा आयोजित कार्यक्रम चैतन्य पाठशाला फुटसल परिसरमा भएको हो। कार्यक्रमको सभापतिको रूपमा चैतन्य पाठशालाका अभिभावक विद्यार्थी सङ्घका अध्यक्ष ईश्वर गिरी रहेका थिए।
वर्तमान समयमा संस्कार सहितको शिक्षा अपरिहार्य रहेको र चैतन्य पाठशालाले समय सुहाउँदो शिक्षा प्रदान गर्ने अभ्यास गरिरहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए। उनले यस्ता कार्यक्रमहरूले बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए। कार्यक्रम अत्यन्त उपयोगी, प्रेरणादायी र भावनात्मक रूपमा जोडिने अनुभव व्यक्त गरेका छन्।