कैलाली, २४ असार / सुदूरपश्चिम प्रदेशभरिको एकमात्र ‘रेफरल’ अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको बहिरंग (ओपिडी) सेवा बन्द भएपछि सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । चिकित्सकको आन्दोलनका कारण अस्पतालको ओपिडी दुई दिनदेखि बन्द छ ।
सुदूरपश्चिमका नौवटै जिल्लाबाट बिरामीहरु उपचारका लागि सेतीमा आउने गर्छन् । पहाडी जिल्लासँगै उपचारका लागि यहाँ पुगेका बिरामी ओपिडी बन्द भएपछि बिचल्लीमा छन् । बिरामी भएर स्वास्थ्य जाँच गर्न र ‘फलोअप’ आएका बिरामी फर्कनु पर्ने बाध्यता छ ।
कैलालीको हसुलियाबाट आएकी प्रतिमा कठरिया आफ्नो छोरालाई जाँच गराउन पाइनन् । छ वर्षीय छोरा रिहानको गिजा सुन्निले समस्या भएपछि एक घण्टा बसको यात्रा गरेर उनी सोमबार बिहान सेती प्रादेशिक अस्पताल पुगेकी थिइन् । ओपिडी बन्द रहेकाले जाँच गराउन नपाएको उनले गुनासो गरिन् । ‘यस्तो घामघाममा त्यति टाढाबाट आएँ, यहाँ त चेकजाँच बन्द रहेछ’ सेतीमै भेटिएकी कठरियाले भनिन्, ‘डाक्टरले दिएको औषधि सकियो तर सुधार भएन । आज डाक्टर भेटिनन्, अब त्यही औषधि खुवाइ राख्ने हो की अर्को चलाउने हो अलमल भयो ।’ गिजा सुनिएकाले पाँच दिनअघि रिहानलाई सेतीको ओपिडीमा चेकजाँच गरेर औषधि लगेको उनले बताइन् ।
बिरामीको निकै भीडभाड हुने सेतीको ओपिडी सोमबार प्राय सुनसान थियो । जाँचका लागि पुगेका बिरामी बन्द रहेको थाहा पाएपछि फर्किन बाध्य भए । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठका अनुसार ओपिडीमा दैनिक एक हजारदेखि एक हजार दुई सय जना बिरामीले सेवा लिन्छन् ।
ओपिडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बिचल्लीमा परेका छन् । उपचारमा लापरबाही सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाको विरोधमा चिकित्सकहरु देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । सेतीमा ओपिडीबाहेक अन्य सेवा भने सुचारु रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।