आइतवार, जेष्ठ २४, २०८३

गोदावरी नदीमा फसेका छ जनाको उद्धार, जिल्ला प्रमुख र प्रहरी प्रमुख समेतको उपस्थिति

धनगढी , २५ असार /  गोदावरी नदीमा बाढी आएपछि फसेका ६ जनाको उद्धार गरिएको छ । बुधवार श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जनाको उद्धार गरिएको हो ।

काठे पुल नजिक नदीको बिच भागमा श्राद्ध गरिरहेका उनीहरू गोदावरी नदीमा एक्कासि बाढी आएपछि फसेका थिए ।

उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहयोगमा सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए ।

उद्दार गरिएकाहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका – ६ बस्ने बर्ष ६५ वर्षीय पल्लु शार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी शार्की, १२ वर्षीय योगेश शार्की, ३५ वर्षीय बिकट शार्की, ३५ वर्षीय बिर शार्की र बेदकोट नगरपालिका – ७ का २८ वर्षीय अब्दुल शार्की रहेका छन ।

उक्त क्षेत्रमा कैलाली जिल्लाका प्रमुख गोगन बहादुर हमाल र प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा , गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट सहितको टोली गोदावरी नदीको काठे पुल नजिकै पुगेको थियो।‌

छ जनाकै सकुशल उद्धार पछि, कैलाली जिल्ला प्रमुख हमालले नदी तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन समेत आग्रह गरेका छन्।