आइतवार, जेष्ठ २४, २०८३

बैतडीमा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

बैतडी। बैतडीमा हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको छ।

मंगलवार राति वर्षासँगै आएको हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानका मकैबालीमा क्षति पुगेको हो। घोगा लाग्नै लागेको मकैबालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन्।

हावाहुरीले सुर्नया गाउँपालिका–८ का ढोले, कठमडा, सेला र दोरामा मकैबालीमा व्यापक क्षति पुगेको स्थानीय रामबहादुर साउँदले बताए। उक्त टोलहरुमा एक हजार बढी घरधुरी रहेका र सबैको मकैबारीमा क्षति पुगेको उनले बताए।

यस्तै दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति पु¥याएको छ। मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा हावाहुरीले क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका छन्।

बैतडीका मकै पकेट क्षेत्रमै हावाहुरीले क्षति पु¥याएपछि मकैको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ। बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ।

पछिल्ला बर्षहरुमा विभिन्न कारणले मकैबालीमा क्षति हुँदा किसानहरु मार्कामा पर्ने गरेका छन्। जंगली जनावर, हावाहुरी, रोगकिराका कारण मकै उत्पादनमा कमी आउने गरेको किसानहरुले

बताएका छन्।मिहनेत अनुसारको उत्पादन नहुँदा पछिल्लो समयमा यहाँका किसानहरुको मकैखेतीमा आकर्षण घट्दै गएको छ।