सोमवार, जेष्ठ २५, २०८३

धनगढीको बजेट खर्चः गत वर्षको तुलनामा खर्चमा कमी

शेरबहादुर ऐर
धनगढी– कैलालीको एकमात्र उपमहानगरपालिकाले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा कमि आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा गत वर्षको खर्च तुलनामा आठ दशमलब ६१ प्रतिशतले कमि आएको हो ।

चालु आर्थिक वर्षमा दुई अर्व २१ करोड ७८ लाख ६० हजार दुई सय २० रकम विनियोजन भएकोमा एक अर्व ६४ करोड ६२ लाख ५० हजार आठ सय ८० रकम खर्च भएको जनाएको छ । जुन कुल बजेटको ७४ दशमलब २२ प्रतिशत हो ।
धनगढीले आर्थिक वर्ष २०८०/८१ मा एक अर्व ९५ करोड चार लाख २१ हजार दुई सय ९८ रकम विनियोजन गरेकोमा एक अर्व ६१ करोड ५५ लाख ७३ हजार सात सय २४ रकम खर्च गरेको थियो । जुन कुल विनियोजन बजेटको ८२ दशमलब ८३ प्रतिशत थियो ।

धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन भएको कुल बजेटमा ५७ करोड १६ लाख नौ हजार तिन सय ४० रकम खर्च गर्न सकेको छैन । धनगढीको चालु आर्थिक वर्षको पुँजिगततर्फको खर्च पनि सन्तोषजनक रहेको छैन । चालु आर्थिक वर्षको धनगढीको खर्चले विकास निर्माणमा कम र प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिन्छ ।

धनगढीले एक अर्व १६ लाख ७६ हजार सात सय नौ रकम पुँजिगततर्फ विनियोजन गरेकोमा ६२ करोड ९९ लाख ९९ हजार एक सय पाँच रकम (६२ दशमलब ८९ प्रतिशत) खर्च गरेको छ भने चालु तर्फ एक अर्व २१ करोड ६१ लाख ८३ हजार पाँच सय १० रकम विनियोजन भएकोमा एक अर्व एक करोड ६२ लाख ५१ हजार सात सय ७५ रकम (८३ दशमलब ५६ प्रतिशत) खर्च गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा धनगढीले आन्तरिक आयबाट ३३ करोड १२ लाख ५२ हजार चार सय चार, राजश्व बाँडफाँडबाट ३५ करोड ८८ लाख दुई हजार एक सय ३४, अनुदानबाट ९० करोड सात लाख २७ हजार आठ सय ६२ र अन्य प्राप्तीबाट ६१ करोड ८१ लाख ५२ हजार पाँच सय ६२ रकम प्राप्त गरेको थियो । धनगढीले चालुतर्फ एक अर्ब ४७ लाख ९८ हजार पाँच सय चार, अन्य कोषको भुक्तानी ५८ करोड ८३ लाख सात हजार आठ सय ३४ र पुँजिगत खर्च ६१ करोड सात लाख ९१ हजार एक सय २८ रकम खर्च गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । भनिएको छ –‘कुल चालु र पुँजिगत खर्चमा आन्तरिक आयको हिस्सा २० दशमलब ८० प्रतिशत रहेको छ । यसले पालिकाले विकास निर्माणमा कम खर्च गरेर प्रशासनिक कार्यमा बढी खर्च गरेको जनाउँछ । प्रशासनिक खर्चलाई नियन्त्रण गर्दै प्राप्त अनुदान र राजश्व बाँडफाँडको रकमलाई अधिकतम रुपमा विकास निर्माणमा लगानी गर्न आवश्यक छ ।’

अन्य स्थानीय तहमा पनि प्रशासनिक खर्च बढी

कैलालीका केही स्थानीय तहहरुले आफनो वेबसाईट तथा आधिकारिक फेसबुक पेजमार्फत चालु आर्थिक वर्षको बजेट खर्चको विश्लेषणसहित सार्वजनिक गरेका छन । जसमा अधिकाँस स्थानीय तहहरुले पुँजिगतभन्दा चालुतर्फको बजेट बढी खर्च गरेको देखिन्छ ।
कैलालीको गोदावरी नगरपालिकाले कार्यालयमा पेश हुन आएका योजना तथा कार्यक्रमहरुमध्ये बजेट अभावका कारणले केही बाहेकका अन्य सम्पूर्ण योजना तथा कार्यक्रमहरुको रकम भुक्तानी भएको जनाएको छ । गोदावरीले चालु आर्थिक वर्षमा एक अर्ब २३ करोड ६१ लाख ५० हजार रकम विनियोजन गरेको छ । जसमा एक अर्व दुई करोड ४० लाख ९१ हजार छ सय १२ रकम (८२ दशमलब ८४ प्रतिशत) खर्च गरेको छ ।
गोदावरीले पुँजिगततर्फ ४४ करोड ७० लाख २७ हजार विनियोजन गरेकोमा ३४ करोड ५५ लाख ६४ हजार सात सय २० रकम (७७ दशमलब तीन प्रतिशत) खर्च गरेको छ भने चालुतर्फ ७८ करोड ९१ लाख २३ हजार विनियोजन गरेकोमा ६७ करोड ८५ लाख २६ हजार आठ सय ९२ रकम (८५ दशमलब ९८ प्रतिशत) खर्च गरेको छ ।

गौरिगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा ७४ करोड ३२ लाख ४० हजार एक सय रकम विनियोजन गरेकोमा ५९ करोड २७ लाख २९ हजार सात सय छ रकम (७९ दशमलब ७४ प्रतिशत) खर्च गरेको जनाएको छ । जसमा पुँजिगततर्फ २९ करोड ७३ लाख ३५ हजार एक सय विनियोजन भएकोमा १३ करोड ३८ लाख ९२ हजार छ सय दुई रकम (६१ दशमलब ६१ प्रतिशत) हो भने चालुतर्फ ५२ करोड ५९ लाख पाँच हजार विनियोजन भएकोमा ४५ करोड ८८ लाख ३७ हजार एक सय चार रकम (८७ दशमलब २५ प्रतिशत) खर्च गरेको जनाएको छ ।
लम्की चुहा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सम्पूर्ण खर्च तथा भुक्तानी सम्बन्धी लेखांकन कार्य असार २५ गते रातको १२ बजेदेखि बन्द गरिएको जनाउँदै चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटमध्ये ८२ दशमलब दुई प्रतिशत खर्च भएको जनाएको छ ।

लम्की चुहाले चालु आर्थिक वर्षमा एक अर्ब ११ करोड ६४ लाख ७७ हजार रकम विनियोजन गरेकोमा ९१ करोड ५७ लाख ४० हजार एक सय ३२ रकम खर्च गरेको जनाएको छ । जसमा पुँजिगततर्फ ३९ करोड ६२ लाख ४९ हजार नौ सय १५ रकम विनियोजन गरेकोमध्ये ३० करोड ७६ लाख ४५ हजार सात सय १८ रकम (७७ दशमलब ६४ प्रतिशत) खर्च भएको छ भने चालुतर्फ ७२ करोड दुई लाख २७ हजार ८५ रकम विनियोजन भएकोमा ६० करोड ८० लाख ९४ हजार चार सय १४ रकम (८४ दशमलब ४३ प्रतिशत) खर्च गरेको छ ।

यस दैनिकले चालु आर्थिक वर्षको बजेट खर्चको विश्लेषणसहितको तथ्यांक माग्दा केही पालिकाले अहिले आन्तरिक तयारीमा जुटेको तर, केही दिनमै उपलब्ध गराउने जनाएको थियो । जसमा १३ स्थानीय तहमध्ये मोहन्याल गाउँपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका रहेका छन । जिल्लाको टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखापालसंग फोन सम्पर्क गर्न खोज्दा उठेन भने कैलारी गाउँपालिकाका लेखापालले शुक्रबारनै उपलब्ध गराउने बताएपनि समाचार तयार पार्नसम्म उपलब्ध गराउन सकेन ।

हामीलाई प्राप्त जानकी गाउँपालिकाले सबैभन्दा बढी चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ८६ दशमलब ९१ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । जानकीले चालु आर्थिक वर्षमा ६१ करोड ४६ लाख १८ हजार रकम विनियोजन गरेकोमा ५३ करोड ४१ लाख ९० हजार नौ सय १९ रकम खर्च गरेको छ । जसमा पुँजिगततर्फ १९ करोड ४१ लाख ६६ हजार छ सय ९९ रकम विनियोजन गरेकोमा १४ करोड ५२ लाख पाँच हजार सात सय ६१ रकम (७४ दशमलब ७८ प्रतिशत) खर्च गरेको छ भने चालुतर्फ ४२ करोड चार लाख ५१ हजार तीन सय एक रकम विनियोजन गरेकोमा ३८ करोड ८९ लाख ८५ हजार एक सय ५७ रकम (९२ दशमलब ५२ प्रतिशत) खर्च गरेको छ ।

कैलालीको पहाडी क्षेत्रमा रहेको चुरे गाउँपालिकाले कुल विनियोजित बजेटमध्ये ८३ दशमलब ५५ प्रतिशत र्ख गरेको छ । चालु आर्थिक वर्षमा ४९ करोड ९२ लाख २८ हजार रकम विनियोजन गरेकोमा गाउँपालिकाले ४१ करोड एक लाख ५० हजार रकम खर्च गरेको छ । जसमा पुँजिगततर्फ १५ करोड ९८ लाख २९ हजार विनियोजन गरेकोमा १२ करोड ४० लाख चार हजार रकम (७७ दशमलब ६२ प्रतिशत) र चालुतर्फ ३३ करोड ९३ लाख ९८ हजार रकम विनियोजन भएकोमा २९ करोड ३० लाख पाँच हजार ८६ दशमलब ३५ प्रतिशत) खर्च गरेको जनाएको छ ।