कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजी दमाईको सर्प दंशबाट मृत्यु भएको घटनापछि कञ्चनपुर जिल्लाभर छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै स्थानीय तहलाई परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडीजस्तो सामाजिक कुप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्न पत्रमार्फत अनुरोध गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा सोमबार जारी पत्रमा भीमदत्त, दोधाराचाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई सम्बोधन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरलाई समेत बोधार्थ दिइएको पत्रमा समाजमा अझै गहिरो गरी जरा गाडेर बसेको छाउपडी प्रथालाई विधिवत् अन्त्य गर्ने अभियानमा सबै तहको समन्वय आवश्यक भएको उल्लेख गरिएको छ ।
कृष्णपुर नगरपालिकाले भने आइतबार नै १५ दिनभित्र छाउगोठ भत्काउन सूचना जारी गरिसकेको छ ।