कैलालीको भजनी नगरपालिका–२ रजवारामा थारु संस्कृति झल्किने थारु संग्रहालय पार्क सञ्चालनमा आएको छ। लोटैया ताल क्षेत्रमा निर्माण गरिएको उक्त पार्क पर्यटन प्रवर्द्धनको उद्देश्यले स्थापना गरिएको हो।
संघीय सरकारले ९० लाख र प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेपछि संग्रहालयको संरचना निर्माण भएको हो। वडाध्यक्ष दुर्गाबहादुर पुनका अनुसार वडाबाट पनि आंशिक सहयोग गरिएको छ।
नगर प्रमुख केवल चौधरी र उपप्रमुख राजुदेवी तिरुवाले एक कार्यक्रमका बीच पार्कको उद्घाटन गरे। उद्घाटनका क्रममा प्रमुख चौधरीले भजनिलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले विभिन्न प्रयास गरिरहेको बताए।
उनले थारु संग्रहालयका संरचना परम्परागत शैलीमा निर्माण गरिनुपर्नेमा जोड दिँदै थारु समुदायको रीतिरिवाज र संस्कृतिको संरक्षण अत्यावश्यक रहेको उल्लेख गरे। संग्रहालयमा सामग्री राख्ने काम भने अझै बाँकी छ।