मङ्लबार, जेष्ठ २६, २०८३

सुदूरपश्चिमका पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाँच जना उत्कृष्ट किसानलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । मंगलबार मन्त्रालयमा आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाबाट छनोट भएका पाँच जना किसानलाई पुरस्कृत गरेको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का केरा व्यवसायी किसान अर्जुन जेठाराले सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । जेठारालाई प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले एक लाख ५० हजार राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर पुरस्कृत गर्दै सम्मान गरेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–५ का मौरीपालक किसान किरणपाल भारतीले उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् । भारतीलाई ७५ हजार रुपैयाँ राशिसहित प्रशंसा पत्र, माला तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

डोटीको आदर्श गाउँपालिकाका मुकुन्द अवस्थी, अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का कुलबहादुर साउद र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैँसीपालक किसान सरस्वती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट कृषकको पुरस्कार प्राप्त गरेको तीनै जनालाई जनही २५ हजार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।