गोरो वर्ण, दुब्लो पात्लो जीउडाल । निधारमा टिका, काँधमा खादा र अनि हातमा सर्टिफिकेट । भीमदत्त नगरपालिका ४ भगतपुरका सम्मित चन्द शनिबार कञ्चन बैङ्केटमा मन्द मुस्कानका साथ साथीहरु बसि रहेका थिए ।
लिटिल बद्ध एकेडेमीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शनिबार बैंङ्केटमा बधाई तथा सम्मान गरेको थियो । त्यसमा मञ्चमा गएर सबैभन्दा पहिले सम्मान थाप्ने सम्मित नै थिए ।

‘मञ्चबाट नाम आएपछि खुसी हुँदै पुगे, त्यहाँ(मञ्च) मा खुसी थिए, त्यहाँबाट मैले सबै साथी, गुरु वर्गलाई हेरि रहे’ सम्मानपछि सम्मितले भने ।
बुवा पूर्ण बहादुर चन्दका साथ उनले सम्मान थापेका थिए । उनलाई टिका लगाएर दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मित एलएबीए र जिल्लाभर उत्कृष्ठ हुन् । एसईईमा उनले ३ दशमलव ९६ जीपिए ल्याएका छन् । सामाजिक बाहेक सबै विषयमा उनको ४ जीपिए छ । उनी एसईईमा ४ जीपिए आउने आशमा थिए । ‘यो भन्दा बढी नै आउने आश थियो, सामाजिकमा ४ जीपीए आएन’ उनले भने ।
एलबीएमा युकेजीदेखि पढेका उनी कक्षा ९ मा कक्षा दोस्रो भएका थिए । कक्षा १० मा दोस्रो स्थानबाट उक्लिदैं उनी प्रथम भएका हुन् ।
सम्मित पढ्न आफूलाई चाख लाग्ने बताउँछन् । उनी पाठ्यपुस्तक बाहेक समान्य ज्ञानका किताब पनि पढ्ने गर्छन् ।
विद्यालय समय बाहेक साँझ र विहान दुई÷दुई घण्टा पढेर आफूले एसईई परीक्षा दिएको उनले बताए ।
‘एसईईका लागि भनेर त्यसरी बेग्लै रुपमा त पढेन, नियमित जसो होमवर्क गरी साँझ र विहान दैनिक २÷२ घण्टा पठनपाठन गरी एसईई दिएको हुँ’ उनले भने ।
सम्मितका आमा बुवा दुबै शिक्षक हुन् । आमा बुवाले पढ्नलाई सधैं प्रेरित गरि गर्ने उनले बताए । चन्द दम्पत्तिका दुई सन्तामा उनी जेठा हुन् । बहिनी पनि लिटिल बुद्धमै पढ्छिन् ।
एसइईमा अपेक्षित नतिजा नआए पनि उनी निराश छैनन् । भन्छन्,‘ म निराश छैन, खुसी नै छु,’ उनी भन्छिन् ।
लिटिल बुद्धमै विज्ञान विषय पढेर उनी भविष्यमा मेडिकल वा इन्जिनियरिङ्ग क्षेत्रमा जाने सोच उनको छ ।
‘चिनजानेका सरहरु हुनु हुनुहुन्छ, पढाईको माहौल राम्रो छ, सरहरुले राम्रो गरी गाईड गर्नु हुन्छ, त्यसैले म यही पढ्छु’ उनले भने ।
लिटिल बुद्ध एकेडेमीबाट एसईई परीक्षा दिएका १ सय ६६ विद्यार्थीमध्ये एक सय ६१ उत्तीर्ण भएका थिए ।
यो संख्या सुदूरपश्चिममै परीक्षा दिने विद्यार्थी संख्यामध्ये दोस्रो ठूलो हो । कैलालीको धनगढीस्थित ऐश्यवर्य विद्या निकेतनबाट २ सय १४ विद्यार्थी एसईई सहभागी भएका थिए ।
लिटिल बुद्धका प्रिन्सिपल श्याम सिह मौनीले सुदूरपश्चिमै सबैभन्दा बढी विद्यार्थी सहभागी भएर उत्कृष्ठ नतिजा सहित सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको विद्यालय गौरवान्तित भएको बताए ।
‘हाम्रो विद्यालयबाट सुदूरपश्चिमभरि धनगढीको ऐश्यर्वपछि सबैभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए, त्यसमा हाम्रो लगभग सबै विद्यार्थी उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण भएका छन्, यो विद्यालयका लागि गौरबको विषय हो’ कार्यक्रममा उनले भने,‘यसका लागि म उत्तीर्ण सबै विद्यार्थी सहित शिक्षक, अभिभावक सबैमा बधाई दिन चाहन्छु ।’