बझाङ, ३२ असार / बझाङको केदारस्युँ गाउँपालिका –४, बागथला बजारस्थित एक गार्मेन्ट उद्योगमा मंगलबार राति आगलागी भएको छ ।स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा राति करिब पौने १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए ।
जस्तापाताले छाएको एकतले तीनकोठे कच्ची भवनमा सञ्चालित उक्त उद्योग पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट ठुलो मेसिन ३ थान, साना मेसिन १६ थान, लत्ता–कपडा, धागोलगायत अन्य सामग्री जलेर करिब १ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
२०७२ सालदेखि सञ्चालनमा आएको होनैनाथ गार्मेन्ट उद्योग जिल्लामै नमुना उद्योगको रूपमा विकास भइरहेको थियो । उद्योगमा ९ जना स्थायी कामदार कार्यरत थिए, जसमा ४ जना कर्मचारी र ५ जना सञ्चालककै परिवारका सदस्य थिए । उद्योगले सबै प्रकारका आवश्यक पोशाक उत्पादन गर्दैआएको थियो ।
उद्योगमा रहेको सबै सामग्री जलेर नष्ट भएको उद्योग सञ्चालक पुष्पराज भट्टले जानकारी दिनुभयो । आगलागी जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा उपाध्यक्ष मनीषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी, शिक्षा शाखा प्रमुख हिम्मत भण्डारीसहितको टोलीले बुधबार स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष बोहराले आगलागी पीडितलाई राहत प्रदान गर्न कार्यपालिका बैठक बोलाएर निर्णय गरिने बताए ।। साथै, जिल्लाको नमुना उद्योग भएकाले राहत र पुनर्निर्माणका लागि अन्य सरोकार निकायसँग सहकार्य गर्नका लागि समेत पालिकाले पहल गर्ने उनको भनाइ छ ।
“गाह्रोमा साथ दिने संस्कारलाई बलियो बनाएर, समस्यामा सबैले सहयोग गर्नु सामूहिक जिम्मेवारी हो” अध्यक्ष बोहराले भन्नुभयो । गाउँपालिकाले विपद्का बेला सबै सरोकारवालालाई सहकार्यका लागि अपिल गरेको छ ।