मङ्लबार, जेष्ठ २६, २०८३

दार्चुलाको टिङ्कर नाका ३ दिनका लागि खुल्दै, व्यापारीहरू व्यापारको तयारीमा

दार्चुलाको नेपाल–चीन सीमामा पर्ने टिङ्कर नाका आगामी साउन ७ देखि ९ गतेसम्म ३ दिनका लागि खुल्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने यो नाका चीनको तिब्बतस्थित ताक्लाकोट प्रशासनले नेपाली व्यापारीहरूलाई जानकारी गराएपछि खुल्न लागेको हो।

नेपाल–चीनमैत्री संघका केन्द्रीय सदस्य योगेश बोहराका अनुसार छाङरु र टिङ्कर क्षेत्रका करिब ७०–८० नेपाली व्यापारीहरूले ताक्लाकोटमा खाद्य सामग्री, लत्ताकपडा लगायतका वस्तुको व्यापार गर्दै आएका छन्। उनीहरू अहिले चीन लैजाने सामान तयारीमा राखिरहेका छन्।

व्यापारीहरूका अनुसार ताक्लाकोटमा करिब चार महिनासम्म व्यापार गरिन्छ र त्यही आम्दानीबाट जीविका चलाइन्छ। यद्यपि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने तिब्बत प्रशासनको आधिकारिक पत्र अझै प्राप्त नभएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष १४६ जनाले अनुमतिपत्र नवीकरण गरेका छन् भने १०५ जनाले नयाँ अनुमति लिएका छन्। कोभिड–१९ महामारीपछि यो नाका गत वर्षदेखि मात्र पुनः सञ्चालनमा आएको हो।