धनगढी, ६ साउन / नेपाली कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा धनगढीमा एक विशेष कार्यक्रम गरिएको छ। ४३ स्मृति दिवसको अवसर पारेर धनगढीस्थित बी.पी. स्मृति भवनमा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद” विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको हो।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेता रणबहादुर रावल प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको समन्वय नेपाली कांग्रेस क्षेत्र नं. ५ क्षेत्रीय कार्यसमिति र धनगढी नगर कार्य समितिले गरेका थियो ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय नेता रणबहादुर रावल केन्द्रीय सदस्य नृप बहादुर ओड, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला, क्षेत्रीय र नगर कार्यसमितिका नेताहरूका साथै तरुण दल र नेविसंघका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि रणबहादुर रावलले बीपी कोइरालालाई केवल नेपाली कांग्रेसका मात्र नभई विश्वले चिनेको नेता भन्दै उनको सिद्धान्त विश्वस्तरमै स्वीकारिएको बताए। उनले पार्टीभित्रका कमजोरी र गुटबन्दीको अन्त्य गरी बीपीको विचारलाई एकजुट भई अवलम्बन गर्नुपर्नेमा जोड दिए। “पार्टीभित्र हामी सबैमा कमजोरी छन्, तर आत्मसमीक्षा र सुधारबाट मात्रै कांग्रेस बलियो बन्छ,” उनले भने।
कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य नृप बहादुर ओडले पार्टीभित्र देखिएको असन्तुलनप्रति चासो व्यक्त गरे। “आज कांग्रेसभित्र म बनाउन सबै तल्लिन हुँदा संगठन कमजोर भएको छ, हामी सबैले म होइन हामी अर्थात् संगठन बनाउन लाग्नुपर्नेमा जोड दिए” उनले स्पष्ट रूपमा भने, आगामी २०८४ को निर्वाचनका लागि मात्र होइन, सबै चुनावका लागि नेपाली कांग्रेस र कार्यकर्ता तयार रहनुपर्नेमा समेत विशेष जोड दिए।
२०१५ सालमा नै बीपी कोइरालाले समावेशी बनाएको नेपाली कांग्रेस पार्टीलाई अहिले हामी समावेशी बनाउँछौं भन्दै ठूला भाषण कुनै पनि नेताले दिन नहुने समेत उनले जिकिर गरे।
उपस्थित अन्य नेताहरूले पनि बीपीवादलाई नेपाली कांग्रेसको मूल बाटो भन्दै त्यसबाट विचलित भए पार्टी कमजोर हुने चेतावनी दिएका थिए। उनीहरूले पार्टीभित्रको अहमतावाद अन्त्य गर्दै सिद्धान्तमा आधारित संगठन निर्माणमा जोड दिएका छन् ।