मङ्लबार, जेष्ठ २६, २०८३

नेटवर्किङ ठगीधन्दामा सुदूरपश्चिमका ८ जना युवायुवती पक्राउ

कैलाली-   बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ।‎ जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक तथा कर्मचारी गरी सुदूरपश्चिमका ८ जना पक्राउ परेका हुन।

पक्राउ पर्नेमा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका-२ का २६ वर्षीय नरेश बोहरा, व्यवस्थापक तथा कर्मचारीहरू दार्चुला महाकाली नगरपालिका-४ का २४ वर्षीय कृष्ण धामी,अछाम कमलबजार नगरपालिका-६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रबिन्द्र शाही रहेका छन्।

त्यस्तै, प्रहरीले कर्मचारीहरू कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका-६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका-३, मुलपानी चोकमा कार्यालय स्थापना गरी उक्त गिरोहले विभिन्न जिल्लाका युवायुवतीलाई ठगीको सिकार बनाएको हो। प्रहरीका अनुसार कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको थियो।‎

सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो।‎ पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो। ‎यसरी स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिले पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।‎

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको बुढथापाले बताए ।‎ ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी नेटवर्किङ व्यवसायको नाममा देशका अन्य भागमा पनि विवादमा परेको देखिन्छ।‎यसअघि पोखरा, बर्दिया र टीकापुर लगायतका स्थानमा पनि यस कम्पनीले आकर्षक तलबको लोभ देखाएर युवाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले कारबाही चलाएको थियो।