दार्चुलाः नेपाल र भारतका सुरक्षा अधिकारीबीच खलङ्गामा आज सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआइजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिए। बैठकमा दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उनले बताए।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपति र भारत अल्मोडाका डिआइजी सुधाम्सु नौटियाल र पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायत १० जनाको उपस्थिति रहेको थियो।