प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा परिचालन गरिएको उक्त टोली तस्करहरूसँग मिलेमतो गर्ने, असुली गर्ने र चोरीका घटनामा संलग्न समूहसँग बार्गेनिङसम्म गरेको आरोपमा आलोचित बन्यो। हालै भारतमा भएको पैसा चोरी प्रकरणमा समेत टोलीको नाम जोडिएपछि आलोचना चुलिएको थियो।
विवाद बढेपछि जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्रबहादुर चन्दले घुमुवा टोली हटाउने निर्णय गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले पनि टोली खारेज भएको पुष्टि गरेका छन्।
तर, प्रहरीभित्रै केही समूहले योजनाबद्ध रूपमा बदनाम गराउने खेल भएको दाबी गर्नेहरू पनि छन्। चन्द निकटस्थले घुमुवा खारेज गरिनुमा भित्री चलखेल र व्यक्तिगत स्वार्थ जोडिएको आरोप लगाएका छन्।
तराईका जिल्लामा सादा पोसाकमा खटिने प्रहरी पहिले पनि गैरव्यवसायिक गतिविधिमा संलग्न हुँदै विवादमा परिरहँदै आएका छन्। तर, विभागीय कारबाही भने प्रभावकारी रूपमा हुन सकेको छैन। प्रायः विवाद उत्पन्न भए दरबन्दी फिर्ता पठाएर जिम्मेवारी टार्ने प्रवृत्ति दोहोरिँदै आएको सुरक्षा निकायभित्रको बुझाइ छ।
