मङ्लबार, जेष्ठ ५, २०८३

कैलालीका इन्स्पेक्टर भण्डारी छानबिनमा, किमाडिको काज

धनगढी: कैलालीमा कार्यरत एक इन्स्पेक्टरविरुद्ध उजुरी दर्ता भएपछि प्रहरी संगठनभित्रै छानबिन थालिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमै वेनामे उजुरी परेको हो।

विभिन्न आरोपसहित परेको उक्त उजुरीबारे प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो।

सो निर्देशनपछि मालाखेतीकै डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अहिले चन्द नेतृत्वको टोलीले छानबिन गरिरहेको बताइएको छ। भदौ २३ गते उजुरीबारे औपचारिक जानकारी आएको थियो।

त्यस अगाडि भण्डारीलाई केही महिना अघि दंगा नियन्त्रण प्रहरी गण, कञ्चनपुरमा काज सरुवा गरिएको भए पनि रमाना दिइएको थिएन।

त्यस्तै, धनगढीस्थित वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत सई दिपेन्द्र किमाडीविरुद्ध पनि केही दिनअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको बताइएको छ। उजुरीपछि उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएको बताइएको छ।