मङ्लबार, जेष्ठ ५, २०८३

तरुण दल केन्द्रीय सदस्य बमको टिप्पणी : मुलुकलाई अहिले महाधिवेशन होइन, एकतामार्फत निकास आवश्यक

धनगढी – नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक खटपट र राष्ट्रिय राजनीतिमा देखिएको अनिश्चितताप्रति तरुण दलका केन्द्रीय सदस्य दिपेन्द्र बमले कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत व्यक्त गरेका विचारमा उनले मुलुकलाई अहिले महाधिवेशनभन्दा पनि राष्ट्रिय सहमति र राजनीतिक स्थिरता जरुरी रहेको औंल्याएका छन्। बमले भनेका छन्, ूपार्टीभित्र एकता गरेर महाधिवेशन अहिलेको आवश्यकता भन्दा पनि मुलुक पहिलो आवश्यकता हो। अनि मात्र पार्टी र महाधिवेशन हो।ू

संसद् विघटनको प्रसङ्गमा उनले न्यायालयको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै लोकतान्त्रिक निरन्तरताका लागि अदालतले साहसिक कदम उठाएको उल्लेख गरे। उनका अनुसार नेपालको सन्दर्भमा चुनाव मात्र होइन, संसद् पुनःस्थापना पनि सम्भव हुने उदाहरण इतिहासमा रहेको छ।

त्यस्तै, उनले आन्दोलनमा सहादत प्राप्त गरेका विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको स्वास्थ्य लाभको कामना गरेका छन्।

बमले सभापति अस्पताल शैय्यामा हुँदा समेत संगठनभित्र झगडा गर्नु गलत भएको टिप्पणीसमेत गरेका छन्। उनका अनुसार वर्तमान अवस्थामा नेताहरुले आपसी विवादलाई थाती राखी संगठन एकतामा ध्यान दिनु जरुरी छ।

राजनीतिक घटनाक्रममा अपराध छानबिन गरी तत्काल कारबाही गर्नुपर्ने माग राख्दै उनले चेतावनीसमेत दिएका छन्– नगरे तरुण दलले कारबाही गर्नेछ।

बमको धारणा अनुसार मुलुकलाई अहिले आवश्यक प्रमुख कुरा भनेको राष्ट्रिय सहमति र स्थिरता, संगठनभित्रको एकता र संविधानको मर्मअनुसार लोकतन्त्रको निरन्तरता हो।

उनको भनाइले कांग्रेसभित्रको आन्तरिक राजनीति मात्र नभई मुलुककै राजनीतिक यात्राप्रति युवातहमा चासो बढाएको देखिन्छ।