शुक्रबार, बैशाख ४, २०८३

कैलाली तरकारी तथा फलफुल व्यवसायी संघद्वारा शिवपुरी धामलाई सहयोग

धनगढी– कैलाली तरकारी तथा फलफुल व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित शिवपुरी धाम मा तरकारी तथा फलफुल सहयोग गरेको छ । फागुन ३ गतेदेखि सुरु हुन लागेको महाशिवरात्री मेलाको अवसर पारेर संघले भक्तजनका लागि आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो ।

महाशिवरात्रीको अवसरमा शिवपुरी धाममा नौ दिनसम्म विविध धार्मिक कार्यक्रम सञ्चालन हुने भएकाले ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिती रहने अपेक्षा गरिएको छ । ती भक्तजनको व्यवस्थापन तथा प्रसाद तयारीका लागि आवश्यक पर्ने तरकारी तथा फलफुलको माग बढ्ने भएपछि संघले मन्दिरलाई सहयोग गरेको जनाएको छ ।

संघका सचिव सञ्जित शाहका अनुसार मन्दिर व्यवस्थापन समितिले सहयोगका लागि आह्वान गरेपछि आवश्यक परिमाणमा तरकारी तथा फलफुल उपलब्ध गराइएको हो । उनले भने, ‘शिवपुरी धाममा महाशिवरात्रीको अवसरमा नौ दिनको कार्यक्रम रहेकाले समितिले मन्दिरलाई पुग्ने गरी सहयोग गरेका छौं । अहिलेसम्म समितिलाई आह्वान गरिएको थिएन । अहिले सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।’

कैलाली फलफुल तथा व्यवसायी संघका अध्यक्ष सञ्जित शाहले पनि धार्मिक तथा सामाजिक कार्यमा संघ सधैं सकारात्मक रूपमा अग्रसर रहने बताएका छन् । उनका अनुसार यसअघि पनि मन्दिरलाई आवश्यक पर्ने तरकारी सहयोग गरिएको थियो । उनले महाशिवरात्री पर्वको अवसरमा सम्पूर्ण भक्तजनमा हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने बताए ।

स्थानीय व्यवसायीको पहलमा भएको यो सहयोगले धार्मिक कार्यक्रम व्यवस्थापनमा सहजता थप्ने विश्वास गरिएको छ । महाशिवरात्री मेलामा सहभागी हुने हजारौं भक्तजनका लागि प्रसाद तथा भोजन व्यवस्थापनमा यो सहयोग महत्वपूर्ण हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।