आइतवार, असार १४, २०८३

धनगढीमा तीनदिने प्रकृति पथ प्रदर्शक तालिम सुरु, पर्यटन प्रवर्द्धनमा जोड

 

धनगढी, असार १३ — उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ तथा नाट्टा सुदूरपश्चिम प्रदेश संघको संयुक्त आयोजनामा धनगढीमा तीनदिने प्रकृति पथ प्रदर्शक (नेचर गाइड) अभिमुखीकरण तथा पुनर्ताजगी तालिम शनिबारदेखि सुरु भएको छ।

‘प्रकृति पथ प्रदर्शक अभिमुखीकरण एवं पुनर्ताजगी’ भन्ने मूल नारासहित सुरु भएको तालिममा पर्यटन क्षेत्रका व्यवसायी, प्रशिक्षार्थी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको छ।

कार्यक्रममा नाट्टा सुदूरपश्चिम प्रदेश संघका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिममा पर्यटक भित्र्याउन निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले भारतबाट आउने पर्यटकलाई प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुर्‍याउने वातावरण बनाउनुपर्नेमा जोड दिए। स्तरीय पर्यटक आकर्षित गर्न विमानस्थल, स्टार होटललगायत भौतिक पूर्वाधार विकाससँगै प्रदेश सरकारले प्राथमिक पर्यटकीय गन्तव्य स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल पर्वतारोहण संघ (एनएमए) सुदूरपश्चिमका अध्यक्ष किशोर खड्काले पदयात्रा गन्तव्यमा दक्ष गाइडको अभाव रहेको उल्लेख गर्दै यस प्रकारका तालिमलाई निरन्तरता दिई उन्नत (एड्भान्स) तालिमसमेत सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिमका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्नुपर्ने बताए। उनले पोखरा, लुम्बिनी, बर्दिया वा राराको विकल्पका रूपमा सुदूरपश्चिमलाई स्थापित गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै धनगढीदेखि करिब ५०० किलोमिटर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको बताए।

उनले तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले खानीडाँडाजस्ता चिसो तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे।

नाट्टा सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष पदम विक्रम सिंहले हाल सञ्चालन भइरहेको तालिम प्रारम्भिक चरणको मात्र भएको बताए। ट्रेकिङ गाइडका लागि कम्तीमा ७२ घण्टाको विस्तृत तालिम आवश्यक पर्ने उल्लेख गर्दै बजेट अभावका कारण नियमित रूपमा त्यस्ता तालिम सञ्चालन गर्न नसकिएको गुनासो गरे।

उनले आगामी आर्थिक वर्षदेखि तालिम पूरा गरेपछि गाइड लाइसेन्स प्राप्त गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग आग्रह गरे।

कार्यक्रममा होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयलगायत पर्यटन व्यवसायी, प्रशिक्षार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन नाट्टा सुदूरपश्चिम प्रदेश संघका उपाध्यक्ष धनञ्जय जैसीले गरेका थिए भने तालिममा रामबहादुर राई प्रशिक्षकका रूपमा रहेका छन्।