धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवबीच देखिएको विवाद आपसी सहमतिमार्फत समाधान भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आपसी समन्वय, सहकार्य र सम्मानका साथ अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। वार्तामा सामाजिक विकास मन्त्री बेलबहादुर रानामगर तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्ट सहभागी थिए।
छलफलपछि अस्पतालको गरिमा कायम राख्ने, कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने तथा सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी अघि बढ्ने सहमति भएको जनाइएको छ। केही समयदेखि अस्पताल सञ्चालन र व्यवस्थापनका विषयलाई लिएर नगरप्रमुख शाही र निमित्त मेसु यादवबीच विवाद चर्किएको थियो।
विवाद सार्वजनिक भएपछि सामाजिक विकास मन्त्रालय, चिकित्सक संघलगायत सरोकारवाला निकायहरूले स्वास्थ्यकर्मीको पेशागत मर्यादा, सुरक्षित कार्य वातावरण र स्वास्थ्य सेवामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य हुने भन्दै धारणा सार्वजनिक गरेका थिए।
वार्तापछि दुवै पक्षले विगतका असमझदारी अन्त्य गर्दै संवाद र सहकार्यका माध्यमबाट लम्कीचुहा प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि नगरप्रमुख शाहीले स्थानीय तहसँग आवश्यक सहमति नगरी लम्की अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको आरोप लगाउँदै मुख्यमन्त्री कमलबहादुर शाहको खुलेर विरोध गर्दै आएकी थिइन्। मुख्यमन्त्री शाहले भने शाही विदेश भ्रमणमा रहेका बेला अस्पतालको प्रादेशिक संरचनाको उद्घाटन गरेका थिए।
अहिले डाक्टर यादव र मेयर शाहीबीचको विवाद मिलाउन मुख्यमन्त्री शाह इतर पक्षले भूमिका खेलेको बताइन्छ। शाहलाई मुख्यमन्त्रीबाट हटाउने अभियानमा सक्रिय प्रदेशसभा सदस्य दिवानसिंह विष्टको पहलमा डाक्टर र मेयरबीच सहमति जुटेको चर्चा छ।
यसअघि अस्पताल विवाद समाधानका लागि मुख्यमन्त्री र मेयरका छुट्टाछुट्टै प्रस्ताव सार्वजनिक भए पनि एकअर्काका प्रस्ताव स्वीकार नगर्दा सहमति हुन सकेको थिएन। अन्ततः प्रदेशसभा सदस्य विष्टकै आग्रहमा मेयर शाही डाक्टरसँग सहमति गर्न तयार भएकी बताइन्छ।