धनगढीमा ‘हस्पिटालिटी एण्ड हाइजिन’ तालिम सम्पन्न, पर्यटन सेवाको गुणस्तर सुधारमा जोड
धनगढी, असार १३ — नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, होटल व्यवसायी महासंघ नेपालको समन्वय तथा होटल व्यवसायी संघ कैलालीको आयोजनामा धनगढीस्थित आफ्नो घर टेम्पल रिसोर्ट मा सञ्चालन भएको दुईदिने ‘हस्पिटालिटी एण्ड हाइजिन’ तालिम शनिबार सम्पन्न भएको छ।
असार १२ र १३ गते सञ्चालन भएको उक्त तालिममा होटल तथा पर्यटन क्षेत्रसँग आबद्ध ४० जना व्यवसायी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य पर्यटन तथा होटल क्षेत्रमा आतिथ्यता, सरसफाइ, खाद्य सुरक्षा, ग्राहक सेवा तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्दै सेवा प्रवाहको गुणस्तर सुधार गर्नु रहेको आयोजकले जनाएको छ।
तालिमका मुख्य प्रशिक्षक भूपाल खतिवडा तथा प्रशिक्षक महेश कुमार बोहरा, महेन्द्र जोशी र गणेश ऐर ले सहभागीहरूलाई आतिथ्यता व्यवस्थापन, हाइजिन, खाद्य सुरक्षा, ग्राहक सन्तुष्टि, व्यक्तिगत सरसफाइ तथा अन्तर्राष्ट्रिय सेवा मापदण्डका विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।
समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला ले पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा र दक्ष जनशक्ति अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता क्षमता अभिवृद्धिमूलक तालिमले पर्यटन तथा होटल व्यवसायलाई थप व्यावसायिक, सुरक्षित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवर ले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझा ले गुणस्तरीय सेवा, सरसफाइ र ग्राहकमैत्री व्यवहार नै सफल होटल व्यवसायको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
समापन समारोहका सभापति तथा होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेय ले नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी महासंघ नेपाल, प्रशिक्षक, अतिथि तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै तालिमबाट हासिल गरिएको ज्ञानलाई व्यवहारमा उतारी सुदूरपश्चिमको पर्यटन तथा होटल व्यवसायको सेवा स्तरलाई अझ गुणस्तरीय बनाउन आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समापन समारोहको सञ्चालन होटल व्यवसायी संघ कैलालीका महासचिव प्रजापति जोशी ‘प्रकाश’ ले गर्नुभएको थियो।