बुधबार, असार १७, २०८३

चिकित्सक अभावले गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ। अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए।

उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डाक्टर होम पन्तको कोशीमा सरुवा फिर्ता भएपछि उनले जागिरबाट राजीनामा दिएसँगै उक्त सेवा बन्द भएको हो। दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन्।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका छन्। रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्सरे जाँच) सेवा पनि बन्द भएको उनको भनाइ छ।

उनले म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको बताए। म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको थियो।६ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छ। अस्पतालमा सेवा विस्तारका लागि पटकपटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आए भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।अस्पतालमा यसअघि नै आइसीयू एनआइसीयू सेवा पनि सञ्चालन गर्ने जनाउँदै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन।