काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता भुक्तानीमा बजेट अपुग भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहलाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ।
केन्द्रका निर्देशक निलकण्ठ ढकालले असार १६ गते जारी गरेको पत्रमा आर्थिक वर्ष २०८२/८३ मा शिक्षकहरूको तलब भत्ताका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको बजेट अपुग भएकाले तत्काल उपलब्ध बजेट शीर्षकबाट व्यवस्थापन गरी शिक्षकको तलब भुक्तानी गर्न अनुरोध गरिएको उल्लेख छ।
पत्रअनुसार आधारभूत तह र माध्यमिक तहका लागि विनियोजित बजेट उपशीर्षकमध्ये कुनै एक शीर्षकमा बचत भए अर्को शीर्षकमा नपुग हुने तलबभत्ता स्थानीय तहको निर्णयबाट व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, स्थानीय तहबाट माग गरिएअनुसार नपुग हुने शिक्षक तलबभत्ताका लागि सम्बन्धित बजेट शीर्षकमा थप वित्तीय हस्तान्तरण गरिने जानकारी पनि केन्द्रले दिएको छ।
केन्द्रको निर्णयअनुसार आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दी र अनुदानमा कार्यरत शिक्षकको नपुग तलब भत्ताका लागि थप बजेट पठाइने उल्लेख गरिएको छ।
पत्रमा प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको नपुग पारिश्रमिक अनुदान बजेटसम्बन्धी जानकारी पनि समावेश गरिएको छ। उनीहरूको पारिश्रमिकका लागि आधा रकम सम्बन्धित स्थानीय तहमा वित्तीय हस्तान्तरण भइसकेको भन्दै त्यसबारे जानकारी गराइएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यो निर्देशनसँगै बजेट अभावका कारण तलब भुक्तानीमा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ।