काठमाडौँ – नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारका बारेमा आफ्नो भनाइ स्पष्ट गरेको छ ।
दूतावासले सो सम्बन्धमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मनको संघीय विदेश मन्त्रालयमा भएको बैठकमा उपस्थित हुन निमन्त्रणा गरिएको तर बोलावट नगरिएको जनाएको छ ।
साथै दूतावासले कुनै विरोध पत्र वा अन्य कुनै दस्ताबेज हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ । मुद्दाको प्रक्रियाको नतिजाका आधारमा हुनसक्ने सम्भावित परिणामबारे कुनै चेतावनी नदिइएको दूतावासले उल्लेख गरेको छ ।
“न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ । वास्तवमा, यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्तत: दूतावासले अदालतमा विचाराधीन मुद्दाका बारेमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन”, दूतावासले उल्लेख गरेको छ ।