कांग्रेस नेताको घरबाट पैसा गन्न्ने मेसिन बरामद मोरङ कारागार असुली प्रकरणमा नयाँ खुलासा! अभिषेक गिरीको घरबाट पैसा गन्ने मेसिन बरामद, अनुसन्धान थप गहिरियो
मोरङ कारागारभित्र कैदीबन्दीको भत्ता तथा श्रम पारिश्रमिक असुली गरिएको आरोपमा पक्राउ परेका अभिषेक गिरीको घरबाट प्रहरीले पैसा गन्ने मेसिन बरामद गरेको छ।
प्रहरीका अनुसार गिरीलाई गत शनिबार बिहान विराटनगर–८ मधुमारास्थित निवासबाट पक्राउ गरिएको थियो। घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिन फेला परेपछि घटनाले नयाँ मोड लिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउपछि अनुसन्धान अझै गहिरिँदै गएको छ र थप तथ्यहरू खुल्ने क्रममा छन्। यसै प्रकरणमा सोधपुछका लागि नियन्त्रणमा लिइएका पाँच जनामध्ये दुई जना रिहा भएका छन् भने कारागारमा तरकारी आपूर्ति गर्ने विनोद सिंह, गिरीका सहयोगी दीपक कार्कीसहित अन्य व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले मोरङ कारागारभित्र कैदीबन्दीको भत्ता र श्रम पारिश्रमिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको सबै पाटोबाट अनुसन्धान जारी रहेको जनाएको छ।