कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिना हेलमेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक खाताबाट सार्वजनिक गरेको भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरमा बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ । भिडियो ‘माननीय मुख्यमन्त्रीज्यू’ शीर्षकसहित पोस्ट गरिएको थियो ।
भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्रीले हेलमेट नलगाई मोटरसाइकल चलाएको विषय चर्चामा आएको छ । दिनभर बैसाखीको सहारामा हिँड्ने मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले भिडियोमा मुख्यमन्त्रीले हेलमेट नलगाएको देखिएको भन्दै सम्बन्धित कानुनी व्यवस्था अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए ।
कानुनी व्यवस्था के छ ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।
यता, भिडियो पोस्ट गरेका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले घटना मंगलबार रातिको भएको बताए । उनका अनुसार मुख्यमन्त्री कार्यालयबाट सरकारी निवास पुगेपछि एक व्यक्तिले बुलेट मोटरसाइकल ल्याएका थिए । निवासको कम्पाउन्डभित्र मोटरसाइकल चलाउन सकिन्छ कि सकिँदैन भन्ने उद्देश्यले मुख्यमन्त्रीले छोटो समयका लागि मोटरसाइकल चलाएर हेरेका थिए । यो खबर नेपाल प्रेसबाट साभार गरिएको हो ।