बिहिबार, असार १८, २०८३

झिलिमिली बत्तीको शहर, वर्षासँगै खुल्छ विकासको वास्तविक अनुहार

धनगढी । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा झिलिमिली बत्ती, चौडा सडक र ‘स्मार्ट सिटी’का सपना देखाइने धनगढीको वास्तविक अनुहार भने वर्षाको पहिलो झरीमै देखिने गरेको छ। केहीबेरको वर्षामात्रै हुनासाथ मुख्य व्यापारिक क्षेत्र रातोपुल तालजस्तै बन्ने दृश्यले विकासका दाबीमाथि नै प्रश्न उठाइदिएको छ।

वर्षौंदेखि दोहोरिँदै आएको डुबानको समस्या समाधान गर्न नसक्दा स्थानीय व्यवसायी आक्रोशित छन्। पानी पर्नेबित्तिकै पसलभित्र पानी पस्ने डरले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। तर, समस्या दोहोरिरहँदा पनि सम्बन्धित निकाय भने हरेक वर्षझैँ मौन देखिएको स्थानीयको आरोप छ।

रातोपुल क्षेत्रका एक व्यवसायी भन्छन्:

“हामीलाई पानीभन्दा उपमहानगरको बेवास्ताले बढी डुबाएको छ। पानी पर्न थालेपछि पसल छोडेर घर जान सकिँदैन। रातभर सामान जोगाउन बस्नुपर्छ।”

यस्तै अर्का व्यवसायीको प्रश्न झनै तीखो छ।

“कर त समयमै उठाइन्छ, तर पानी निकासको व्यवस्था कहिले हुन्छ? हरेक वर्ष उही समस्या, उही आश्वासन। विकास कागजमा मात्रै हो कि जमिनमै पनि हुन्छ?”

स्थानीयका अनुसार बजार क्षेत्रमा प्रभावकारी ढल तथा पानी निकास प्रणाली नहुँदा सामान्य वर्षाले पनि सडक जलमग्न हुने, व्यापार ठप्प हुने र लाखौँ रुपैयाँ बराबरको क्षति हुने गरेको छ।

वर्षेनि एउटै दृश्य दोहोरिन्छ, वर्षा हुन्छ, बजार डुब्छ, व्यवसायी आत्तिन्छन्, सर्वसाधारण सास्ती भोग्छन् र केही दिनपछि सबै बिर्सिन्छन्। फेरि अर्को वर्षा आउँछ, समस्या पनि उहीँ दोहोरिन्छ।

स्थानीयको प्रश्न अहिले एउटै छ : धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजना अघि बढिरहेको हो, कि वर्षा लागेपछि डुब्ने शहरको पहिचानलाई नै निरन्तरता दिइँदै छ? बजार क्षेत्र नै सुरक्षित राख्न नसक्ने अवस्थामा विकासका ठूला भाषणभन्दा स्थायी समाधानको प्रतीक्षा धनगढीवासीले अझै गरिरहेका छन्। nepaliheadline