बिहिबार, असार १८, २०८३

सुदूरपश्चिमेली डोटेली गीत ‘मिनाकुमारी’ सार्वजनिक

धनगढी, असार १७ । ए.एस. उडान फिल्म प्रोडक्सनको पहिलो प्रस्तुति स्वरूप सुदूरपश्चिमेली डोटेली भाषाको बहुप्रतीक्षित गीत ‘मिनाकुमारी’ सार्वजनिक गरिएको छ। बुधबार साँझ ४:४५ बजे आयोजित विशेष कार्यक्रममार्फत गीत दर्शक तथा श्रोतामाझ ल्याइएको हो।

“जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…” बोल समेटिएको गीतको छायांकन सुदूरपश्चिम प्रदेशका विभिन्न रमणीय तथा पर्यटकीय स्थानहरूमा गरिएको निर्माण पक्षले जनाएको छ। छायांकनका क्रममा नै स्थानीय दर्शकहरू गीत गुनगुनाउँदै नाचगानमा रमाएको दृश्यले गीतप्रतिको आकर्षण र लोकप्रियताको संकेत दिएको बताइएको छ।

गीतमा चर्चित गायक दिलबहादुर बि.क. र चर्चित गायिका संचिता नेपालीको स्वर रहेको छ। नेपाली तथा भारतीय संगीत क्षेत्रमा सक्रिय दुवै कलाकारले दर्जनौं गीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन्। विशेषगरी ‘द भ्वाइस अफ नेपाल’ मार्फत व्यापक चर्चा कमाएकी संचिता नेपाली नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिकामध्ये एक मानिन्छिन्।

गीतको कथा तथा निर्देशन नरेश नागरी र केशव भाटले संयुक्त रूपमा गरेका छन्। म्युजिक भिडियोमा केशव भाट र मनिषा सिंह ठकुरीको जोडीलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। साथै सुदूरपश्चिमका पहिलो नायक तथा वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्यको अभिनयले भिडियोलाई थप आकर्षक बनाएको निर्माण पक्षको दाबी छ। अन्य कलाकारहरूमा चूडामणि जोशी र मोहन भुसाल रहेका छन्।

गीतको छायांकन अनिल चौधरीले गरेका हुन् भने प्रकाश व्यवस्थापन अनिक चौधरीले गरेका छन्। रेकर्डिङ ‘द म्युजिक इरा स्टुडियो’मा गरिएको हो भने संगीत संयोजन कृष्ण बाजुरेलीले गरेका छन्।

कार्यक्रम तथा निर्माण प्रक्रियामा श्री बागेश्वरी इन्टरप्राइजेज, धनगढी, अमेरिकास्थित ह्यान ओभर म्यारिल्यान्डबाट भरतराज भट्ट तथा पूर्व संघीय सांसद डिल्लीराज पन्तको विशेष सहयोग रहेको जनाइएको छ। साथै केशवराज जोशीलाई विशेष धन्यवाद प्रदान गरिएको छ।

ए.एस. उडान फिल्म प्रोडक्सनका मेनेजिङ डाइरेक्टर तथा निर्माता अम्बिका प्रसाद आचार्यका अनुसार गीत गायक दिलबहादुर बि.क.को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुदूरपश्चिमको भाषा, संस्कृति तथा मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार गरिएको उक्त गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।