ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा निर्माण गरिएको सुदूरपश्चिमेली डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच धनगढीमा भव्य रूपमा सार्वजनिक गरिएको छ।
गीति एल्बमको औपचारिक विमोचन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा। टी।एन। जोशी ले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले सुदूरपश्चिमको भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा यस्ता सिर्जनात्मक कृतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका प्रबन्ध निर्देशक उत्तम थापा, वरिष्ठ नृत्य निर्देशक तथा सनराइज टिभीका सिईओ दीप श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक तथा सुपक थारु सलिमा पहुराका प्रमुख गोविन्द मुखिया, राज इन्टरटेन्मेन्टका राज चौधरी, सुपकला प्रतिष्ठानका उपाध्यक्ष चन्द्रु चौधरी, लायन्स धनगढीका अध्यक्ष मेघा भट्ट लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रमको अन्तिम चरणमा ख्यातिप्राप्त उद्घोषक गुणाकर पनेरु तथा मोडल अनु खड्का को समेत उपस्थिति रहेको थियो। कार्यक्रम व्यवस्थापनमा श्री बागेश्वरी इन्टरप्राइजेज धनगढी, भरत राज भट्ट (ह्यानोभर, मेरिल्याण्ड, अमेरिका) तथा पूर्व संघीय सांसद डिल्लीराज पन्त को सहयोग रहेको निर्माण पक्षले जनाएको छ।
कार्यक्रमको अध्यक्षता तथा सञ्चालन ए।एस। उडान फिल्म प्रोडक्सन प्रा.लि. का अध्यक्ष, निर्माता, निर्देशक तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्रसाद आचार्य ले गर्नुभएको थियो। उहाँले सुदूरपश्चिमको मौलिक भाषा, कला, संस्कृति तथा प्रतिभालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो।
‘जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…..’ बोल रहेको गीतमा गायक दिलबहादुर बिक र गायिका सन्चिता नेपाली को स्वर रहेको छ। गीतको कथा तथा निर्देशन नरेश नागरी र केशव भाट ले संयुक्त रूपमा गर्नुभएको हो।
गीतको भिडियोमा केशव भाट र मनिषा सिंह ठकुरी को मुख्य अभिनय रहेको छ। साथै वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्य को अभिनयलाई पनि भिडियोको विशेष आकर्षणका रूपमा लिइएको छ। अन्य कलाकारहरूमा चूडामणि जोशी र मोहन भुसाल रहेका छन्।
गीतको छायांकन अनिल चौधरी ले गर्नुभएको हो भने लाइट व्यवस्थापन अनिक चौधरीले गर्नुभएको छ। ‘द म्युजिक इरा स्टुडियो’मा रेकर्ड गरिएको गीतको संगीत संयोजन कृष्ण बाजुरेली ले गर्नुभएको हो।
निर्माण पक्षका अनुसार सुदूरपश्चिमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस गीतले डोटेली भाषा, संस्कृति तथा मौलिक पहिचानलाई उजागर गर्ने प्रयास गरेको छ। गीत असार १७ गते साँझ ४ः४५ बजे गायक दिलबहादुर बिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सुदूरपश्चिमको मौलिक कला, भाषा र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ तयार पारिएको ‘हिरोइन मिनाकुमारी’ ले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।