शुक्रबार, असार १९, २०८३

वरिष्ठ साहित्यकार गणेश दत्त न्यौपाने ‘कौडन्य’को निधन

कञ्चनपुर, असार १९ । नेपाली साहित्यका वरिष्ठ स्रष्टा, कवि तथा साहित्यकार गणेश दत्त न्यौपाने ‘कौडन्य’ को आज ८२ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधनले नेपाली साहित्य क्षेत्रले एक अनुभवी, समर्पित र बहुमुखी स्रष्टालाई गुमाएको छ।
वि.सं. २००२ साल जेठ १ गते (अक्षय तृतीया) मा जन्मनुभएका स्वर्गीय न्यौपानेका पिता पिताम्बर न्यौपाने तथा माता दुर्गादेवी न्यौपाने (पवित्रा) हुनुहुन्थ्यो। तनहुँ जिल्लाको व्यास–४, बाह्रबिसेमा जन्मनुभएका उहाँको स्थायी बसोबास पुनर्वास नगरपालिका–२, सीतावस्ती, कञ्चनपुर मा रहेको थियो।
‘कौडन्य’ साहित्यिक नामबाट परिचित उहाँले कविता, खण्डकाव्य, महाकाव्य, गीत तथा बाल साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। उहाँका प्रकाशित कृतिहरूमध्ये आमाको गुनासो र अर्ती (२०५४), नदीका सुमधुर वचन खण्डकाव्य (२०५६), गुलियो तीतो (डोटेली कविता संग्रह) (२०६१), घर गृहस्थ र वातावरण काव्य (२०६६), वह ( शोक काव्य ) (२०६८), भेटारो (बाल कविता संग्रह) भाबोधगार – फुटकर कविता संग्रह (२०६९), भिजेका अक्षर – खण्ड काव्य (२०७२), हरिशरण – महाकाव्य (२०७३), सहारा – खण्ड काव्य (२०७३), क्वाँटी – कविता संग्रह (२०७४) र जीवत्व – पद्म गुच्छा (२०८१), लगायतका कृतिहरू प्रकाशित छन्। वसुन्धरा नामक वृत्तकाव्य रहेका छन्।
उहाँ ‘कौडन्य चेतना छन्द साहित्य पुरस्कार’ का संस्थापक, प्रकाश पुन्ज साहित्यिक पत्रिका का सम्पादक तथा विभिन्न साहित्यिक संस्थाका आजीवन सदस्यसमेत हुनुहुन्थ्यो। नेपाली भाषा, साहित्य र छन्दकाव्यको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहनेछ।
स्वर्गीय गणेश दत्त न्यौपाने ‘कौडन्य’प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्। ॐ शान्ति।