विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको दाबी, सबै कागजात पूरा हुँदा पनि दुःख दिइएको व्यापारीको आरोप
धनगढी, २१ असार । महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ वैध बिल तथा आवश्यक कागजातसहित पठाइएको गुड मिस्री बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालयमा बुझाएपछि विवाद उत्पन्न भएको छ। व्यापारीले आफूलाई अनावश्यक रूपमा दुःख दिइएको आरोप लगाएका छन् भने सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा कानुनबमोजिम कारबाही गरिएको जनाएको छ।
पञ्चलक्ष्मी ट्रेड एण्ड सप्लायर्स, महेन्द्रनगरका सञ्चालक पदमराज पाण्डेयका अनुसार न.सु.प.प्र. ०२–००१ ख १२२२ नम्बरको ट्रकमा १२१ बोरा गुडगट्टा र ३०० बोरा गुड लोड गरी बझाङको चैनपुर पठाइएको थियो। उक्त सामानको मूल्य करिब ३ लाख ३५ हजार रुपैयाँ रहेको उनले बताए।
उनका अनुसार शुक्रबार राति अत्तरिया क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर त्रिनगर, कैलालीको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकसँगै चालकसहित तीन जनालाई नियन्त्रणमा लिए पनि पछि उनीहरूलाई छाडिएको र ट्रक भने कैलाली भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।
व्यापारी पाण्डेयले सशस्त्र प्रहरीका डीएसपी मोहनजङ्ग कार्कीको नेतृत्वमा ट्रक नियन्त्रणमा लिइएको दाबी गर्दै सबै कानुनी प्रक्रिया पूरा भएको अवस्थामा पनि ट्रक जफत गरिनु उचित नभएको बताए। उनका अनुसार सुरुमा ट्रकलाई ‘बेवारिसे’ भन्दै भन्सार कार्यालय पठाइएको थियो। पछि सामानको बिल तथा कागजात रहेको जानकारी गराएपछि बिलसमेत संलग्न गरी अर्को पत्र पठाइएको भन्दै उनले सशस्त्र प्रहरीको नियतमाथि प्रश्न उठाए।
“हामीले कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर सामान पठाएका थियौँ। सामान बिग्रिने प्रकृतिको भएकाले ढिलाइ हुँदा थप क्षति हुने अवस्था सिर्जना भएको छ,” पाण्डेयले भने।
यता, कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले सामान बुझाउँदा वारिसे वा बेवारिसे भन्ने विषय सुरुमै स्पष्ट हुनुपर्ने बताए। पछि बिलसहित कागजात प्राप्त भएको उल्लेख गर्दै उनले बिलअनुसारकै सामान भएको पुष्टि भए व्यापारीलाई अनावश्यक दुःख दिन नहुने धारणा व्यक्त गरे।
सशस्त्र प्रहरी बलका डीएसपी मोहनजङ्ग कार्कीले भने विशेष सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको बताए। उनका अनुसार शुक्रबार राति ट्रक नियन्त्रणमा लिए पनि शनिबार भन्सार कार्यालय बन्द रहेकाले आइतबार कार्यालयमा बुझाइएको हो। अब आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया भन्सार कार्यालयबाट अघि बढ्ने उनले जानकारी दिए।
उता, सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख प्रहरी उपरीक्षक खुमबहादुर केसीले नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा बुझाइसकिएको र थप प्रक्रिया सम्बन्धित निकायबाटै अघि बढ्ने बताए।
भन्सार ऐन, २०६४ अनुसार शंकास्पद वा राजस्व छलीसँग सम्बन्धित हुन सक्ने वस्तु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउन सकिने व्यवस्था छ। तर सामानसँग सम्बन्धित बिल, भन्सार तिरेको प्रमाण तथा अन्य आवश्यक कागजात वैध रहेको पुष्टि भए सामानधनीलाई फिर्ता गर्नुपर्ने कानुनी प्रावधान पनि रहेको छ।
यस घटनामा व्यापारी र सुरक्षा निकायका दाबी फरक–फरक देखिए पनि वास्तविकता भन्सार कार्यालयको अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिएको छ। सामान कानुनसम्मत रूपमा ओसारपसार गरिएको पुष्टि भए व्यापारीलाई राहत मिल्नेछ भने कुनै कानुनी त्रुटि भेटिए कानुनअनुसार आवश्यक कारबाही अघि बढाइनेछ।